उच्च अदालत पाटनले बलात्कारको आरोप लागेका नेकपा एमालेका नेता ऐन महरको मुद्दा तामेलीमा राख्ने निर्णय बदर गरेको छ।
बुधबार अदालतका न्यायाधीशहरू ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंविरूद्ध परमादेश जारी गरेको सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले जानकारी दिए।
उच्च अदालत पाटनमा पीडित महिलाले तीन वटा रिट दायर गरेकी थिइन्। दुई वटा रिट भने खारेज गरेको छ।
गत असार ११ गते दायर भएको रिट भने जारी गरिदिएको हो।
केही समयअघि एमाले नेता ऐन महरको अडिओ बाहिरिएको थियो। झन्डै दुई घन्टाको अडिओ बाहिरिएपछि पार्टीले पनि उनलाई केन्द्रीय सदस्यबाट हटाएको थियो।
पीडितले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको र त्यसको अनुसन्धान नगरी तामेलीमा राखेको भन्दै उच्च अदालतमा रिट दायर गराएकी थिइन्।
सरकारी वकिल कार्यालय काठमाडौंले घटना भएको एक वर्षभित्र जाहेरी नपरेको र जाहेरवाला सनाखत गर्न पनि नआएको भन्दै तामेलीमा राख्ने निर्णय गरेको थियो। त्यस निर्णयलाई बदर गरी पुन: प्रक्रिया अघि बढाउन भनिएको सूचना अधिकारी आचार्यले बताए।
‘सरकारी वकिलको कार्यालयले एक वर्षभित्र जाहेरी पनि नपरेको र जाहेरवाला सनाखत गर्न पनि नआएको हुँदा तामेलीमा राखिएको थियो। एक वर्षभित्रै परेको देखियो। जाहेरवालासँग पनि रिटपूर्वक बुझिएको देखिएन। त्यसो गर्दा तामेलीमा राख्ने आदेशलाई बदर गरिदियो। अब सबै बुझेर फेरि निर्णय गर भनेको हो,’ उनले भने, ‘अब फेरि कारबाही प्रक्रिया सरकारी वकिलकै हातमा हुने भयो।’