राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले बयान लिएपछि कानुन व्यवसायी र परिवारको जिम्मा लगाएर छाडेको छ।
लामिछाने बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा परेको मुद्दाको प्रतिवादका लागि बुधबार जिल्ला अदालतमा उपस्थित भएका थिए।
आइतबार परेको मुद्दाको प्रतिवादका लागि बुधबार बिहान साढे ९ बजे नै भैरहवास्थित जिल्ला अदालत पुगेका लामिछानेसँग न्यायाधीश प्रह्लादकुमार योगीले बयान लिएका थिए। गोला थुत्दा लामिछानेको मुद्दा आफ्नो इजलाशमा परेपछि न्यायाधीश योगीले दिउँसो २ बजेपछि बयान सुरू गरेका थिए।
लामिछानेसँग पौने ५ बजेतिर बयान सकिएपछि न्यायाधीश योगीको आदेशले कानुन व्यवसायी र परिवारको जिम्मा लगाएर छोडिएको अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए।
बिहीबार बिहान १० बजे जिल्ला अदालतमा उपस्थित हुने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लगाएर पठाइएको ज्ञवालीले बताए।
यसअघि कास्की र काठमाडौंमा भने मुद्दाको थुनछेक बहस पुरा नहुँदासम्म अदालतले हिरासतमा राख्न आदेश दिएको थियो। स्रेस्तेदार ज्ञवालीका अनुसार लामिछानेको थुनछेक बहस बिहीबार बिहान १० बजेदेखि नै हुनेछ।
लामिछानेको पक्षमा बहस गर्न काठमाडौंबाट समेत कानुन व्यवसायी आएका छन्।
वरिष्ठ अधिवक्ता नारायणदत्त कँडेल बुधबार नै भैरहवा आइपुगेका छन् भने। नारायण घिमिरे, सुशिल पन्तसहितका कानून व्यवसायी काठमाडौंबाटै आउने उनको सचिवालय स्रोतले बतायो।
रूपन्देहीबाट बुटवल बारका अध्यक्ष गोविन्द मरासिनीले पनि लामिछानेको पक्षमा बहस गर्ने बताइएको छ।
पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने छन्। त्रिपाठी र भण्डारी पनि रूपन्देही आइपुगेका छन्।
त्यस्तै सरकारी वकिलको कार्यालयको तर्फबाट १२ जना भन्दा बढी कानुन व्यवसायीले बहस गर्नेछन्।