गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमा अवकाश पाउने प्रावधान सशस्त्र प्रहरी बल, नेपालको कानूनमा समावेश हुने बताएका छन्।
बुधबार काठमाडौंस्थित सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयमा २४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही दिनमा लामो समयदेखि सशस्त्र प्रहरी जवानहरूले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानूनमा समावेश घोषणा गरे।
‘सम्माननीय प्रधानमन्त्रीज्यु लगायत सबै साथीहरुको सहयोगमा सशस्त्र प्रहरी बल नेपालको कानूनलाई केही दिनमै विधेयकका रूपमा संसदमा दर्ता गर्ने सबै तयारी भई अन्तिम रूप हामीले दिइसकेका छौं,’ उनले भने, ‘हामी केही दिनमा सम्बन्धित विधेयकलाई संघीय संसदमा दर्ता गर्नेछौं। सम्पूर्ण अधिकृतदेखि जवानहरू समेतको आवाजलाई समेटेर कानूनको तर्जुमा गरिएको छ।’
उनले कानुन आएको कुरा राख्न पाउँदा खुसी भएको पनि बताए।
‘लामो समयदेखि सशस्त्र प्रहरी जवानहरूले उठाइरहेको १६ वर्षमा अवकाश जान पाउने प्रावधानलाई कानूनमा समावेश गरिनेछ। यो कुरा आजको विशेष दिनमा सशस्त्र प्रहरी बल नेपालका सक्कल दर्जाको अगाडि राख्न पाउँदा खुशीको अनुभव गरिरहेको छु,’ उनले भने।
कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अन्तर्राष्ट्रिय सीमालाई सुरक्षित राख्न सशस्त्र प्रहरी बलले काम गरिरहेको बताए।
सीमा क्षेत्रमा हुने चोरीपैठारी तथा सीमापार अपराध नियन्त्रणको कार्यलाई संगठनले प्राथमिकतामा राखि कार्य सञ्चालन गरिरहेको बताए।
हालसम्म नेपालले मर्मत गर्नुपर्ने २ हजार ३०८ वटा सीमा स्तम्भहरूको मर्मत तथा रंगरोगन सम्पन्न गरिसकेको उनले जानकारी दिए।