अखिल क्रान्तिकारीको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ।
माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार राति अबेरसम्म भएको मनोनयनमा ४ जनाले प्यानलै बनाएर र दुई जनाले स्वतन्त्र उम्मेदारी दिएका हुन्।
उम्मेदवारहरूलाई माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र तीन जना उपमहासचिवहरूको छुट्टाछुट्टै साथ रहेको छ।
प्यानल बनाएर उम्मेदवारी दिनेहरूमा उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल र हेमन्त राई छन्।
यादव माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट हुन्। विजय सापकोटा उपमहासचिव शक्ति बस्नेत, सुदिन पौडेल वर्षमान पुन र हेमन्त राई जनार्दन शर्मा निकटका हुन्।
योगेन्द्र बुढा उपाध्यक्ष कृष्णबहादुर महरा र विश्वमणि थापा उपाध्यक्ष पम्फा भूसालनिकटका हुन्।
उपदेश यादव प्यानलबाट महासचिवमा सञ्जिव फुँयालले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा पार्वता चौलागाईं उम्मेदवार छन्।
सुदिन पौडेल प्यानलबाट श्याम रोका र हेमन्त राई प्यानलबाट रोशन थापामगर महाचिवका उम्मेदवार छन्। विजय सापकोटा प्यानलबाट महासचिवको उम्मेदवार टुंगिसकेको छैन।
सर्वसम्मत ढंगले नेतृत्व चयन गर्नका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार अध्यक्षका आकांक्षीहरूलाई खुमलटार नै बोलाएर छलफल गरेका थिए।
छलफलबाट सर्वसम्मत हुने अवस्था नदेखिएपछि उनले चुनावबाटै नेतृत्व चयन गर्न भनेका थिए। तर हेडक्वार्टरबाट कसैले पनि पक्षधरता नलिने बताएका थिए।
अखिल क्रान्तिकारीको ३३ पदाधिकारीसहित २४३ सदस्यीय कमिटीका लागि चुनाव हुनेछ। पदाधिकारीमा एक अध्यक्ष, ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ जना सचिव र एकजना कोषाध्यक्ष रहनेछन्।