नेकपा (एमाले) ले वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्ने निर्णय गरेको छ।
बालुवाटारमा मंगलबार बेलुकी बसेको सचिवालय बैठकले गौतम नेतृत्वको अभियानसँग सहकार्य गर्दै जाने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
गौतम राष्ट्रिय सभा सांसद छन् भने उनी एमाले फर्कन चाहन्छन्।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच गत शुक्रबार बालुवाटारमा भेटवार्ता भएको थियो। त्यसअघि उनीहरूले टेलिफोनमा कुराकानी गरेका थिए।
अध्यक्ष ओलीले पनि गौतमलाई एमालेमा फर्कन आग्रह गरेका थिए।
एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएका बेला गौतम प्रभावशाली थिए। ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अन्तरविरोध चुलिँदा नेता गौतम प्रचण्डतिर लागेका थिए।
उनै गौतमले ओलीलाई ‘एक व्यक्ति एक पद’को मान्यताअनुरूप पार्टी अध्यक्षको पूर्ण भूमिका प्रचण्डलाई हस्तान्तरण गर्न स्थायी कमिटीमा फरक मत नै राखेका थिए।
तर नेकपा विभाजनका बेला गौतमले प्रचण्डलाई साथ दिएनन्। पछि एमाले र माओवादी केन्द्र अलग-अलग अस्तित्वमा फर्कदा एमाले उपाध्यक्षबाट राजीनामा दिएर २०७८ भदौमा गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका थिए।
यसबीचमा एमाले फर्कन उनले अध्यक्ष ओलीसँगै संवाद अघि बढाए पनि त्यतिबेला अध्यक्ष ओली नै इच्छुक देखिएका थिएनन्। एमाले फर्कने वातावरण नबनेपछि उनी नेकपा (एकीकृत समाजवादी) मा जाने तयारी पनि गरेका थिए।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेता गौतमको निवासमै पुगेर छलफल गरे। गौतम पनि छलफलका लागि एकीकृत समाजवादी केन्द्रीय कार्यालय आलोकनगर पुगेका थिए।
एकीकृत समाजवादी उनलाई तेस्रो वरियता दिन तयार थियो।
एकीकृत समाजवादीसँग पार्टी एकता नै हुनुपर्ने र आफूसँग रहेका नेताहरूको व्यवस्थापन हुनुपर्ने अडान राखेका गौतम अन्ततः एमालेमा पदीय हैसियत टुंगो नलाग्दै फर्कन राजी भएका हुन्।
यो पनि: म एमाले फर्कने पक्कापक्की भइसक्यो: वामदेव गौतम