नेकपा एमालेको सचिवालय बैठकले नेता वामदेव गौतमले नेतृत्व गरिरहेको नेकपा एकता राष्ट्रिय अभियानसँग सहकार्य गर्ने निर्णय गरेको छ।
मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको विधान अधिवेशन आगामी २०८२ भदौ २०, २१ र २२ गते अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गर्ने पनि निर्णय गरेको छ।
यसअघिको विधान अधिवेशन २०७८ पनि यहीँ भएको थियो।
त्यस्तै पार्टीको गण्डकी, कर्णाली सम्पर्क तथा विशेष समन्वय कमिटीको प्रस्ताव अनुमोदन गर्ने निर्णय भएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार माघ, फागुन र चैत महिनामा वडा केन्द्रित अभियान प्रभावकारी ढंगले सञ्चालन गर्ने पनि निर्णय भएको छ। यो अभियानमा सम्पूर्ण पार्टी पंक्ति परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने पनि निर्णय भएको छ।