खानेपानी मन्त्री प्रदीप यादव र धरानका मेयर हर्क साम्पाङबीच मंगलबार सिंहदरबारमा कुराकानी भएको छ।
धरान उपमहानगरपालिकाभित्रको खानेपानी समस्या समाधान गर्न मागसहित मेयर साम्पाङ खानेपानी मन्त्रालय पुगेर मन्त्री यादवसँग भेटवार्ता गरेका थिए।
खानेपानी मन्त्री यादवले मेयर साम्पाङलाई धरानमा खानेपानी समस्या समाधान गर्न एकीकृत खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र नै खानेपानीसम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता जनाएका छन्।
‘आज धरान उपमहानगरका मेयर हर्क साम्पाङजी धरानवासीको खानेपानी समस्या समाधानको माग राख्दै मन्त्रालयमा उपस्थित हुनुभयो। खानेपानी समस्या समाधानका लागि आवश्यक जग्गा प्राप्तिको जिम्मा धरान उपमहानगरले लिनेछ,’ मन्त्री यादवले भने, ‘मैले धरानवासीप्रति सधैं सकारात्मक रहेको र खानेपानीको समस्या समाधानका लागि एकीकृत खानेपानी आयोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा यस वर्षभित्र खानेपानीसम्बन्धी टेण्डर आह्वान गर्ने प्रतिबद्धता व्यक्त गरेको छु।’
साथै मन्त्री यादवले खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता आफूले व्यक्त गरेको बताएका छन्।
‘मेयर हर्क राईजीलाई खानेपानी योजनाका लागि अन्यत्र नजान र खुशीसाथ धरान फर्कन आग्रह गरेँ, जसलाई उहाँले सकारात्मक रूपमा ग्रहण गर्दै खुशीका साथ मन्त्रालयबाट फर्किनुभयो,’ उनले भनेका छन्।
मेयर साम्पाङ सोमबार काठमाडौं आएका थिए। उनी मंगलबार सिंहदरबार गएका छन्। खानेपानी मन्त्री भेटेका उनले अर्थ र प्रधानमन्त्री भेट्ने तयारी गरेका छन्।