नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक मंगलबार बस्दैछ।
बैठक दिउँसो २ बजे अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा बस्ने उपमहासचिव वर्षमान पुनले बताए।
पुनका अनुसार मंगलबारको पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन टुंगो लगाउने सम्भावना छ।
यसअघि गत माघ २ गतेको पदाधिकारी बैठकमा उपाध्यक्ष पम्फा भुसालले नेताहरूको कार्यविभाजनसम्बन्धी प्रस्ताव पेस गरेकी थिइन्।
उक्त प्रस्तावबारे मंगलबारको बैठकमा छलफल गर्ने र नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्ने माओवादी केन्द्रले जनाएको छ।
गत पुस २१ र २२ गते काठमाडौंमा भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै पदाधिकारी बैठक बसेर कार्यविभाजन गर्ने बताएका थिए।
त्यसबेला अध्यक्ष प्रचण्डले केही प्रदेशका ईन्चार्जहरू समेत हेरफेर हुन सक्ने बताएका थिए।
उक्त बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी भएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि माओवादीले जिम्मेवारी तोकिसकेको छैन। बैठकमा पुन उपाध्यक्षको लहरमा बसेका थिए।