नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल (क्रान्तिकारी) को नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहान ८ बजेदेखि अनलाइनमार्फत् उम्मेदवारी दर्ता भइरहेको छ।
अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हद लागेको छ।
अध्यक्ष पदमा ८ जनाभन्दा बढी दाबेदार छन्।
हेमन्त किराँती राई, सुदिन पौडेल, तिर्सना हमाल, योगेन्द्र बुढा, विजयप्रकाश सापकोटा, पार्वती नेगी, राजन आले, विश्वमणि थापालगायत अध्यक्ष पदका दाबेदार रहेको अखिल (क्रान्तिकारी) का एक नेताले जानकारी दिए।
यिनीहरू सबै निवर्तमान उपमहासचिव हुन्।
अखिल (क्रान्तिकारी) मा ३३ पदाधिकारीसहित दुई सय ४३ सदस्यीय कमिटीका लागि माघ १२ गते निर्वाचन हुँदैछ।
निवर्तमान पदाधिकारीमध्ये ४१ जनाले मात्रै नयाँ निर्वाचनमा भाग लिन पाउने क्रान्तिकारीले जनाएको छ। एक सय ३८ जना पदाधिकारी भने उमेर हदका कारण निर्वाचन प्रक्रियाबाट स्वतः बाहिरिएका छन्।
यी दाबेदारमध्ये अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निकट विजयप्रकाश सापकोटा हुन्। उनलाई नेताहरू शक्ति बस्नेत, हिमाल शर्मा र पञ्चा सिंहको समर्थन छ।
उपमहासचिव जनार्दन शर्मानिकट हेमन्त किराँती राई र उपमहासचिव वर्षमान पुननिकट सुदिन पौडेल छन्। पौडेल गण्डकी प्रदेश अध्यक्ष हुन्। राई भने काेशी प्रदेशका अध्यक्ष हुन्।
माओवादीले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयास पनि जारी राखेको छ।