नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को नयाँ नेतृत्व चयन गर्न मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ।
३३ पदाधिकारीसहित दुई सय ४३ सदस्यीय कमिटीका लागि माघ १२ गते निर्वाचन हुन लागेको छ।
अनलाईनमार्फत् मंगलबार बिहान ८ बजे सुरू भएको मनोनयन साँझ ६ बजेसम्म चल्ने क्रान्तिकारीका निवर्तमान अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन्।
पहिलो पटक निर्वाचनमार्फत नै ३२ वर्षे उमेर हद लगाएको क्रान्तिकारीमा निवर्तमान कमिटीका उपमहासचिवभन्दा तलका पदाधिकारीहरू अध्यक्षमा प्रतिष्पर्धा गर्दैछन्।
निवर्तमान पदाधिकारीमध्ये ४१ जनाले मात्रै नयाँ निर्वाचनमा भाग लिन पाउने क्रान्तिकारीले जनाएको छ। एक सय ३८ जना पदाधिकारी भने उमेर हदका कारण निर्वाचन प्रक्रियाबाट स्वतः बाहिरिएका छन्।
अध्यक्षसहित मुख्य पदाधिकारीमा अघिल्लो कमिटीमा उपमाहसचिव रहेका ३२ वर्ष मुनिका १० जना उपमहासचिवहरूले प्रतिष्पर्धा गर्ने सम्भावना रहेको क्रान्तिकारीका नेताहरूले जनाएका छन्।
यसअघि उमेर हद लगाउने कि नलगाउने भनेर क्रान्तिकारीमा निर्वाचन भएको थियो। उक्त निर्वाचनमा उमेर हद लगाउने पक्षमा ९ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको थियो।