कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले आफूमाथि भएको कुटपिट घटनाबारे प्रदेश सभा बैठकमा सुनाएका छन्।
सोमबारको प्रदेश सभा बैठकमा बोल्दै कांग्रेस संसदीय दल नेतासमेत रहेका थापाले गत शनिबार झापामा आफूमाथि भएको कुटपिट घटना सुनाएका हुन्।
‘कुनैले उद्देश्य बोकेर ममाथि त्यो घटना भएको होइन, त्यसैले पनि मैले सरकारलाई अनुरोध गरेँ- यसलाई मुद्दा नबनाऊँ,’ थापाले भने, ‘प्रेस युनियनको कार्यक्रमबाट फर्किदै गर्दा अलि छिटो घर पुगौं भनेर मेरो चालकले अगाडिको गाडीलाई साइड मागेका थिए तर अगाडिको गाडीले साइड दिन चाहेन।’
केहीबेरपछि अगाडीको गाडी रोकिएको र सरकारले आफूलाई सुरक्षामा उपलब्ध गराएका सुरक्षाकर्मीले ती गाडीका चालकमाथि बुझ्न खोजेको उनले बताए।
‘किन साइड दिनुभएन, पछाडि भीआइपीको गाडी छ, मैले हात देखाएर रोक्नुस् भन्दा पनि रोक्नुभएन, कारण के हो?’ सुरक्षाकर्मीका कुरा उद्धृत गर्दै थापाले भने, ‘भित्रबाट यस्तो जबाफ आयो- को हो भीआइपी, किन साइड दिने? आगलागी भइरहेकोले निभाउन हिँडेको। मैले सोधें- भाइ भीआइपीलाई साइड नदिए पनि ठिक छ, तर सडकमा भीआइपी मात्र होइन बिरामीलगायत अरू पनि हिँड्छन्, साइड पनि दिनुपर्ने हुन्छ।’
त्यही बेला सुरक्षाकर्मीले थप जिज्ञासा राख्न खोज्दा गाडीका चालक अघि बढेको र सो क्रममा गाडीको झ्यालनजिक भएकोले आफ्नो अनुहारमा लागेको थापाले बताए। त्यसपछि गाडी अघि बढेको र आफ्नो गाडीले पछ्याएको उनको भनाइ छ।
‘म पनि दुई चार मुक्का लगाउने हिसाबमा थिएँ तर साथीहरूले रोक्नुभयो,’ उनले भने, ‘त्यसबीचमा प्रहरी आइसकेको थियो। उसलाई पक्राउ गरेर लगेको छ। सरकारले छाडे हुन्छ, मेरो कुनै उजुरी छैन भनेको छु।’
भिडिओ: