गजामा आइतबार हुने भनिएको युद्धविराम कार्यान्वयनमा ढिलाइ भएको छ।
स्थानीय समयअनुसार बिहान ८ बजे औपचारिक रूपमा युद्धविरामको कार्यान्वयन हुने भनिएको थियो।
त्यसअघि इसराइलले गजामा रहेका बन्धकको सूची पठाउन हमासलाई अनुरोध गरेको थियो।
हमासले बन्धकको सूची नपठाएका कारण युद्धविराममा ढिलाइ भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन्।
इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले बन्धकको सूची पठाउन र युद्धविराममा ढिलाइ नगर्न हमासलाई चेतावनी दिएका छन्।
हमासले सूची बुझाउन ढिला गरेपछि इसराइलले गजामा हवाई आक्रमण गरेको छ। हवाई आक्रमणबाट गजामा तीन जना प्लालेस्टिनी नागरिकको ज्यान गएको अल जजिराको समाचारमा उल्लेख छ।
सम्झौता अनुसार आज हमासले तीन इसराइली बन्धक रिहा गर्ने र इसराइलले त्यहाँका जेलमा रहेका करिब १०० जना प्यालेस्टिनी कैदी रिहा गर्ने भनिएको थियो।
तर युद्धविराम कार्यान्वयनमा ढिलाइ भएसँगै प्रधानमन्त्री नेतान्याहुले हमासलाई लगातार चेतावनी दिइरहेका छन्।
उनले युद्धविरामको सम्झौता पालना नभए अथवा सम्झौताअनुसार नभएको खण्डमा गजामा पुन आक्रमण गर्ने चेतावनी दिएका थिए। यसका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि सहमति दिइसकेको उनले दाबी गर्दै आएका छन्।
ट्रम्पले भोलिदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्। उनले गजामा युद्धविराम हुने र सबै बन्धहरू रिहा हुने बताएका छन्।