लुम्बिनी प्रदेशसभाको पाँचौं अधिवेशनको तेस्रो बैठक आइतबार दिउसो बस्दै छ। पुस १६ गतेदेखि सुरु भएको पाँचौं अधिवेशनको दोस्रो बैठक पुस १७ गते बसेको थियो।
आइतबार दिउँसो एक बजेदेखि बस्ने तेस्रो बैठकमा प्रदेशसभाबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयक सम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाउने र प्रदेशसभा सदस्यहरुले समसामायिक विषयमा विशेष समयमा बोल्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।
पाँचौं अधिवेशनका दोस्रो बैठकले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सन्देशसहित फिर्ता पठाएका प्रदेश निजामती कर्मचारीसम्बन्धी प्रदेश निजामती सेवा ऐन,(२०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुबहु पारित गरेको थियो।
दुवै विधेयक पहिलोपटक प्रदेशसभाको चौथो अधिवेशनले २०८१ भदौ २७ र ३१ गते पारित गरेको थियो। प्रदेश प्रमुख घर्तीले सन्देशसहित असोज २२ गते फिर्ता पठाएपछि पुनः प्रदेशसभाको पाँचौँ अधिवेशनको दोस्रो बैठकले हुबहु पारित गरेको थियो।
पारित दुवै विधेयक सभामुख तुलाराम घर्तीले प्रमाणित गरेर पुनः पुस १९ गते नै प्रदेश प्रमुखसमक्ष पठाएका थिए। प्रदेश प्रमुख घर्तीले पुस २७ र २८ गते प्रमाणिकरण गरेपछि प्रदेशसभाको तेस्रो बैठक बस्न थालेको हो।
यस्तै आज बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने छन्।
सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री कार्कीले दिने कार्यसूची रहेको छ।