नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्र पहिलो पार्टी बन्ने बताएका छन्।
नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादी आगामी स्थानीय तह चुनावबाट पहिलो बन्ने दाबी गरेका हुन्।
त्यसको छनक गत मंसिरमा सम्पन्न स्थानीय तह उपनिर्वाचनले दिएको उनको भनाइ थियो।
'आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्वपूर्ण सन्देश हो,' अध्यक्ष प्रचण्डले भने।
गत मंसिर १६ गतेको स्थानीय तहको निर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइँमा उठाउने सन्देश दिएको पनि प्रचण्डले बताए।
'बिरोधीहरुले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला पूर्वले माओवादीलाई संख्या र लोकप्रिय मत दुबैमा पहिलो पार्टी बनाएको छ,' उनले भने।