राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य समेत रहेका पार्टीका कोशी प्रदेश अध्यक्ष राजेश तिमिल्सिनालाई निलम्बन गरेको छ।
उनले साधारण सदस्यबाटै निकालिएका पूर्वमहामन्त्री मुकुल ढकाललाई पूर्ववत जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेका थिए। सोही आधारमा उनलाई निलम्बन गरिएको रास्वपा कोशीका एक नेताले जानकारी दिए।
पार्टी अनुशासन आयोगका संयोजक भरतमणि देवकोटाले भने उनीमाथि अनुसन्धान माग भएको र त्यसैका लागि निलम्बन गरिएको पत्र तिमिल्सिनालाई पठाएका छन्।
शुक्रबार तिमिल्सिनालाई आयोगले पत्र पठाएर जानकारी दिएको हो।
'तपाईं उपर यस पार्टीको कोशी प्रदेश समितिका सदस्यहरू, पदाधिकारीहरू तथा जिल्ला सभापतिहरूले अनुसन्धान गरिपाऊँ भनी मिति २०८१।०९।१८ मा यस आयोग समक्ष दिएको उजुरी र यस आयोगको स्थलगत मूल्याङ्कन समेतका आधारमा भएको यस आयोगको मिति २०८१।१०।०४ को निर्णयले यस पार्टीको कोशी प्रदेश सभापति तथा प्रदेश समिति सदस्य समेतबाट अर्को निर्णय नभए सम्मका लागि केन्द्रीय अनुशासन आयोगको नियमावली २०८० को परिच्छेद ४ को नियम ४.१. (ख), नियम ४.१.१. (ख) तथा नियम ६.२.३. (झ) समेतले दिएको अधिकार प्रयोग गरी तपाईंलाई निलम्बन गरिएको व्यहोरा जानकारी गराइन्छ। यस आयोगले तपाईं उपर गर्ने अनुसन्धानमा तपाईंको सहयोगको अपेक्षा गरिन्छ' तिमिल्सिनालाई थमाइएको पत्रमा भनिएको छ।
पार्टी कोशी प्रदेशको बैठक राखेरै तिमिल्सिनामाथl कारबाही गर्न भन्दै आएको देवकोटा सहितको टोली बैठक राख्न नसकी रित्तै फर्केको थियो।
६२ सदस्यीय प्रदेश समितिका जम्मा १३ जना मात्रै बैठकमा उपस्थित भएपछि कोरम नपुगेर कोशीको बैठक हुन सकेको थिएन।
केन्द्रीय अनुशासन आयोगले मुकुललाई पार्टीमा पूर्ववत पुनःस्थापित गर्नुपर्छ भन्ने कोशी प्रदेशका सभापति तिमल्सिनाविरूद्ध कारबाही प्रक्रिया अघि बढाउन गएको आइतबार बैठक बोलाएको थियो। अनुशासन आयोगको उपस्थितिमा तिमिल्सिनालाई कारबाही गर्ने योजनासहित सुनसरीको इटहरीमा बैठक आयोजना गरिएको थियो। तर, बैठकमा गणपूरक संख्या नपुगेपछि इटहरी नगर समितिका सदस्यहरू बोलाएर कार्यक्रम भएको रास्वपा स्रोतले बताएको छ।
मुकुल ढकाललाई पुनःस्थापना गर्नुपर्ने तिमल्सिनाको अभिव्यक्तिपछि आयोगले स्पष्टीकरण माग्दै कोशी प्रदेश कमिटीको बैठक बोलाएको थियो। बैठकमा प्रदेश अध्यक्षमाथि कारबाही गर्ने भए आफूहरू नआउने खबर पठाएको प्रदेशका सदस्यहरूले बताएका थिए।
'बहुमत सदस्यहरू बैठकमा नजानेमा ढुक्क थियौं तर यतिधेरै जना नै नजालान् भन्ने लागेको थिएन,' ती सदस्यले भनेका थिए, 'बोल्न नसके पनि बैठकमा अनुपस्थित रहेर हामीले मुकुलजीको पुनः स्थापना र प्रदेश अध्यक्षको अभिव्यक्तिको पक्षमा आफू लाई उभ्याएका हौं।'
बैठक बस्न नसकेपछि अनुशासन आयोगले तिमिल्सिनालाई निलम्बन गरेको हो।