राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ कार्यवाहक प्रवक्ता तोकेको छ।
यसअघि उक्त जिम्मेवारीमा केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सांसद मनीष झा थिए।
उनी निजी कामका लागि एक महिना बिदामा बस्ने भएपछि कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिइएको पार्टीले जनाएको छ।
यसअघि झा देश बाहिर हुँदा केन्द्रीय सदस्य गणेश कार्कीले कार्यवाहक प्रवक्ताको जिम्मेवारी पाएका थिए।
अहिले पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
कञ्चनपुरकी रावल सभापति रवि लामिछानेनिकट रहेर काम गर्दै आएकी छन्। पत्रकारिता पृष्ठभूमिकी रावल रास्वपा खुल्नुअघि ग्यालेक्सी टेलिभिजनमै थिइन्।
रावल ग्यालेक्सीबाट प्रसारण भएको ‘लालमोहर’ कार्यक्रम निर्माता थिइन्। लालमोहरका प्रस्तोता रमेश प्रसाईं थिए। उनी पनि अहिले रास्वपाकै केन्द्रीय सदस्य छन्।
त्यसका अतिरिक्त रावल रवि लामिछाने नै प्रस्तोता रहेको सिधा कुराको कन्टेन्ट रिसर्चसमेत गर्थिन्।
ग्यालेक्सी टेलिभिजनअघि नागरिक दैनिकको अंग्रेजी संस्करण रिपब्लिका, हिमाल साउथएसियन लगायत संस्थासँग रावल आबद्ध थिइन्।
लामिछानेले पार्टी गठन गरेको केही समयपछि रावल पनि ग्यालेक्सी टेलिभिजन छाडेर राजनीतिमा आबद्ध भएकी थिइन्।सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री हुँदा रावल दुवै पटक उनको सचिवालयमा रहेर काम गरेकी थिइन्।
यसअघि उनी पार्टीको सहप्रवक्ता थिइन्।