प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै संसद अधिवेशन बोलाइने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घले शुक्रबार गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले छिट्टै संसद अधिवेशन बोलाइने बताएका हुन्।
‘सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘आगामी १५ दिनपछि हुने संसदको अधिवेशनमा पेस गरी दुई महिनाभित्र प्रतिस्थापन विधेयक ल्याएर पारित गर्छौं।’
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी ६ दलले संसद अधिवेशन तत्काल बोलाउन सरकारलाई दबाब दिने निर्णय गरेका थिए।
साथै सरकारले पाँच वटा अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपति पौडेलले सरकारका सिफारिसमा अध्यादेशहरू जारी गरिसकेका छन्।