सत्तारूढ र प्रतिपक्षी दलहरूका प्रमुख सचेतकहरूबीच सिंहदरबारमा छलफल भएको छ।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले) तथा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकहरूबीच शुक्रबार छलफल भएको हो।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला, माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियारबीच छलफल भएको हो।
छलफलले संसदलाई प्रभावकारी रूपमा अघि बढाउन सबै दलहरू एकठाउँमा उभिएर काम गर्ने निस्कर्ष निकालेको एमाले मुख्य सचेतक बर्तौलाको भनाइ छ।
सरकारले संसदलाई दिएको बिजनेस वा विधेयक छिटो–छरितो ढंगबाट कानून निर्माणको तहमा पुर्याउन संसदीय दलहरूले भूमिका खेल्ने विषयमा पनि छलफल भएको उनले जानकारी दिए।
‘आजको बैठकमा हामीले विधेयक निर्माणका सन्दर्भमा कसरी अगाडि बढ्न सक्छौं। हामीले साझा ढंगबाट संसदभित्रका काम कसरी प्रभावकारी बनाउन सक्छौं भन्ने विषयमा छलफल चलायौं। सामान्यतया हामी संसदीय काम र प्रक्रियाहरूका सन्दर्भमा समय समयमा छलफल गरेर विधेयकका सन्दर्भमा होस्, कन्टेन्टका सन्दर्भमा र अन्य विषयमा पनि एकमत निर्माण गरेर अगाडि बढ्ने गरेको इतिहास नै छ। र यो नियमित प्रक्रियाभित्र रहेर आज हामीले छलफल गरेका हौं,’ उनले भने।
संसदमा विचाराधीन विधेयकहरूका बारेमा विपक्षीको धारणाका विषयमा पनि कुराकानी भएको उनले बताए।
‘सरकारले संसदमा विधेयक दिने र संसदले पूर्णता नदिँदा वर्षौं होल्ड भएर बस्ने समस्यालाई अगामि दिनमा कसरी अगाडि बढाउन सक्छौं। सरकारले संसदलाई दिएको बिजनेस वा विधेयक छिटो छरितो ढंगबाट कानून निर्माणको तहमा पुर्याउन हामी सांसदहरुले वा हामी संसदीय दलहरुले कुन प्रकारको भुमिका खेल्ने हो, हामीले समयसीमा निर्धारण गरेर जाने हो भने कसरी जाने यी लगायतका विषयमा हामीले छलफल भयो,’ उनले भने।
संसदको प्रभावकारिता हासिल गर्न र विधेयक निर्माणमा संसद अब्बल छ भन्ने कुरा स्थापित गराउनका लागि सिंगो दलहरू एक ठाउँमा उभिएर काम गर्ने निस्कर्षमा पुगेको उनले बताए।