नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयकबारे छलफल गरेको छ।
केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको कांग्रेसको शिक्षा विभागले बुधबार केन्द्रीय कार्यालय सानेपमा विधेयकबारे छलफल गरेको हो।
विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा छलफलमा छ।
शिक्षा विभागले पहिलो चरणमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीसाग र दोस्रो चरणमा सरोकारवालाहरूसँग छलफल गरेको थियो।
तेस्रो चरणमा नीति बहस श्रृंखला गरेको विभागले "विद्यालय शिक्षा विधेयक र सरोकार" बारे कार्यक्रम गरेको हो।
उक्त कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी, प्याब्सनका अध्यक्ष डिके ढुंगाना, राष्ट्रिय शिक्षक संगठनका महासचिव हंशबहादुर शाही, उपाध्यक्ष नवराज पाण्डे, विद्यालय व्यवस्थापन समिति महासंघ लगायत सहभागी थिए।
सो कार्यक्रममा कांग्रेसका उपसभापति पूर्णबहादुर खडकाले समितिमा रहेको विद्यालय शिक्षा विधेयकमा आवश्यक सुधार गर्नुपर्ने धारणा राखेका थिए भने कोषाध्यक्ष उमेश श्रेष्ठ, शिक्षा विभागका पूर्वप्रमुख रहेका सांसद चन्द्र भण्डारीले पनि शिक्षा विधेयक अघि बढाउनुपर्नेमा जोड दिएका थिए।
संसदको हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित हुने उनीहरूको विश्वास थियो।
शिक्षा विभाग प्रमुख नैनसिंह महरले नि:शुल्क शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयन गर्न, शिक्षक संगठन लगायतका सरोकारवालासँग सरकार र कांग्रेसले विगतमा गरेका सम्झौताको कार्यान्वयन, निजी क्षेत्रको लगानीको सुरक्षा र शिक्षामा गुणस्तरयता कायम गरेर शिक्षालाई विश्वस्तरमा प्रतस्पर्धा गर्ने बनाउन कांग्रेस प्रतिबद्ध रहेको बताए।
शिक्षा नीति र प्राथमिकतामा पनि रूपान्तरण गरिनुपर्ने उनको भनाइ थियो। उनले सबैबाट संकलित सुझाव सरकारलाई बुझाएर विधेयकमा समावेश गर्न दबाब दिने पनि बताए।