सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रसारण संस्थाहरू सत्ता र व्यक्ति विशेषको चाकडी गर्ने संस्थाको रूपमा विकास भएको बताएका छन्।
मंगलबार सार्वजनिक सेवा प्रसारण (पिएसबी) को पूर्वारम्भ कार्यक्रममा बोल्दै मन्त्री गुरूङले कानूनी जटिलताका कारण संस्थाको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाको रूपमा विकास भएको बताएका हुन्।
उनले रेडियो नेपालले लगातार ३० वर्षसम्म तत्कालीन पञ्चायतको ताबेदारी गरेको आरोप लगाए। जनतामाझ सही सूचना संप्रेषण गर्न नसक्दा रेडियो नेपालमाथि मिथ्या सूचना संप्रेषण गर्ने गरेको आरोप लाग्दै आएको मन्त्री गुरूङले बताए।
उनले रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रसारण सुधार गर्न विभिन्न कालखण्डमा सुझाव समिति तथा कार्यदल बनेका भए पनि संविधान निर्माण, भारतको नाकाबन्दी र भूकम्पको सामना गर्नुपर्दा ती सुझावहरू कार्यान्वयन गर्न नसकिएको बताए।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पिएसबी पास भई कार्यान्वयनमा आएको उल्लेख गर्दै अब सार्वजनिक सेवा प्रसारण संस्थाहरू सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे।
उनले सार्वजनिक सेवा प्रसारण संस्थाहरूले उत्कृष्टतामा विश्वास गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
उनले सार्वजनिक सेवा प्रसारण संस्थाहरूले विश्वभरि सूचना प्रदान गर्न नसके पनि नेपालभर समाचार सेवा दिन सक्नुपर्ने बताए।
नेपालका प्रत्येक भूगोलमा समाचार सेवा पुर्याउन सकेको ठूलो उपलब्धी मान्नुपर्ने उनको भनाइ छ।
उनले भने, ‘लोकतन्त्रको विगुल फुक्ने काम सार्वनजनिक प्रसारण संस्थाहरूले गरेको हो। तर पछिल्लो समय सार्वजनिक सेवा प्रसारण संस्थाहरू यसको सिद्धान्त मुताविक चलाउन नसक्दाखेरी सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाको रूपमा विकास भयो। त्यत्रो राम्रो काम गरको रेडियो नेपालपछि ३० वर्ष पञ्चायतको ताबेदारी गर्ने, पञ्चहरुको चाकडी गर्ने संस्थाको रूपमा विकास भयो। जनतालाई सही सूचना संप्रेषण गर्नुपर्नेमा त्यस्तो काम भएन। मिथ्या र झुट समाचारहरू प्रसारण गर्यो भनेर अर्को पक्षले आरोप लगाएको स्थिति हो। बहुदल आयो, २०४६ सालमा प्रजातन्त्र आयो। त्यसपछि यसलाई धेरै सुधार गर्ने प्रयास भए। धेरै उतारचडावको बीचमा हामीले दोस्रो जनआन्दोलनमा आइपुग्दाखेरी रेडियो नेपाल तथा नेपाल टेलिभिजनहरू जस्ता सार्वजनिक प्रसारण संस्थानहरूलाई योजनाअनुसार चलाउने भनेर सुझाव समिति तथा कार्यदलहरू बने। कार्यदल तथा सुझाव समितिहरूले सरकारलाई सुझाव पनि दियो।’
उनले अगाडि भने, ‘त्यसपछि कहिले संविधान निर्माण गर्ने क्रममा, कहिले नाकाबन्दीको सामना तथा भूकम्पको मारमा परेको हुनाले सही दिशा लिन नसकेको स्थिति थियो। तर अहिले चाहिँ ऊ बेला सम्माननीय प्रधानमन्त्रीको कार्यकालमा पिएसबीको उत्पत्ति भयो। त्यतिबेला पास हुन सकेन। अहिले चाहिँ पारित भएर कार्यान्वयनमा आएको छ। सार्वजनिक प्रसारण संस्थाहरूले सही दिशामा अघि बढ्छ। अब उत्कृष्टतामा विश्वास गर्ने हुनुपर्छ। उत्कृष्टतामा विश्वास गर्नु भनेको प्रतिस्पर्धा हो। त्यसकारण उत्कृष्टतामा विश्वास गर्ने संस्थाको रूपमा सार्वजनिक सेवा प्रसारण संस्था नेपाल विकास गर्न लाग्नुपर्छ। त्यो भूमिका पक्कै पनि अहिलेको सार्वजनिक प्रसारण संस्था नेपालले चाहिँ पूरा गर्नेछ भन्ने विश्वास मैले गरेको छु। हाम्रो प्रसारण सेवा विश्वभर पुग्न नसक्ला तर हाम्रो भूगोलको सबै ठाउँमा पुग्नुपर्यो। त्यति मात्र गर्न सकियो भने पनि महान उपलब्धी हुन्छ भन्ने लाग्छ।’
नेपालभित्रका सम्पूर्ण घरहरूभित्र नेपाल टेलिभिजन हेरिने र रेडियो नेपाल सुनिने गरी विकास गर्नुपर्ने उनको भनाइ छ।
उनले सार्वजनिक प्रसारण संस्थाको सिद्धान्तअनुसार अघि बढ्दै नेपाली विशेषताको आधारमा कार्यान्वयन गर्न निर्देशन दिए। —न्युज एजेन्सी नेपाल