नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बेलायतको संसद भवन (वेस्ट मिन्स्टर) मा भएको कार्यक्रमलाई सम्बोधन गरेका छन्।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले दिएको जानकारीअनुसार पुस २९ गते कोइरालाले बेलायतको संसद भवनभित्र भएको एक कार्यक्रममा नेपाल-बेलायत सम्बन्धलाई केन्द्रमा राखेर धारणा राखेका हुन्।
कोइरालाले 'नेपाल-बेलायत सम्बन्ध र भविष्यका अपेक्षाहरू' विषयमा केन्द्रित रहेर धारणा राखेका थिए। उक्त कार्यक्रम संसद भवनभित्र आयोजित थियो तर संसदमै भएको भने होइन।
कार्यक्रममा बेलायतका केही सांसदहरू पनि सहभागी थिए।
कोइरालाले पारस्परिक हितका क्षेत्रमा सँगै काम गर्न दृढ रहेको बताए। उनले नेपालमा बेलायती लगानी वृद्धि गर्न सकिने पनि बताएका थिए।
‘नेपालको जलविद्युत, पर्यटन तथा कृषि तथा वनजन्य उद्यमको अपार सम्भावना अनि हाम्रा इमानदार र परिश्रमी कामदारका कारण नेपाल वैदेशिक लगानीको लागि अत्यन्त सम्भावना भएको क्षेत्रमा पर्दछ। नेपाल सरकारले बैदेशिक लगानीमैत्री वातावरण बनाएको छ। नेपालमा बेलायती लगानी राम्रो भए पनि अझ यसमा धेरै वृद्धि गर्न सकिन्छ,’ कोइरालाले भने।
साथै उनले बिपीले सन् १९७० मा व्ल्याकपुलमा भएको लेवर पार्टीको सम्मेलनमा भाग लिएको कुरा पनि राखेका थिए।
‘नेपाल र नेपालीहरूमा ऐतिहासिक एकता, आपसी समझदारी, सद्भावना र सहयोगका लागि म मेरो र नेपाली कांग्रेस पार्टीको तर्फबाट लेवर पार्टीप्रति आभार प्रकट गर्न चाहन्छु। साथै यो मित्रताको निरन्तरताको विश्वास व्यक्त गर्दछु,’ कोइरालाको भनाइ छ।
यस्तो छ कोइरालाले राखेको धारणा:
माननीय क्याथरिन वेष्ट, गेरेथ थोमस, संसद सदस्यहरू,
नयाँ वर्ष २०२५ को अवसरमा म यहाँहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै हालै सम्पन्न निर्वाचनमा लेवर पार्टीको प्रभावशाली विजयको लागि बधाई ज्ञापन गर्न चाहन्छु। म सम्माननीय कियर स्टार्मरको नेतृत्वको सरकारको कार्यकालको पूर्ण सफलताको कामना गर्दछु।
नेपाल र संयुक्त अधिराज्य बीचको ऐतिहासिक र गतिशील सम्बन्धको चर्चा गर्न आज यहाँ उपस्थित हुन पाउँदा म आफूलाई गौरवान्वित महसुस गरिरहेको छु। आजको यहाँहरूको यो कार्यक्रमको उपस्थिति हाम्रो बलियो मित्रताको जग भएको मेरो विश्वास छ। दुई शताब्दीभन्दा लामो हाम्रो सम्बन्धका बारेमा चर्चा गर्न यहाँ आउँदा पाएको न्यानो आतिथ्यताका कारण म अत्यन्त हर्षित भएको छु।
दुई शताब्दी अगाडी बेलायती प्रधानमन्त्री लर्ड पामर्स्टनले भनेझैं, 'संसारमा कोही कसैको स्थायी मित्र वा सत्रु हुँदैनन्, केबल पारस्परिक हित हुन्छन्।’ त्यही पारस्परिक हितका कारण नेपाल र संयुक्त अधिराज्यलाई आज यहाँसम्म ल्याएको छ। हामी यो अत्यन्त सुमधुर सम्बन्धको उच्च सम्मान गर्दछौं। यही सम्बन्धका कारण विगतदेखि नै हाम्रा पूर्वज कैयन नेपालीले बेलायतको तर्फबाट युद्धमा भाग लिए। कैंयनले ज्यानसमेत गुमाए। आज पनि हामी हाम्रा पारस्परिक हितका क्षेत्रमा सँगै काम गर्न दृढ छौं।
हाम्रा दुई देश बीचका ऐतिहासिक सम्बन्धलाई आजका दिनमा जनस्तरको सहकार्यले बढाउँदै लगेको छ। यही सम्बन्धको आधारमा, नेपाली जनता र नेपालको सार्वभौम संसदको तर्फबाट निरन्तर सहयोगको लागि म वेलायती सरकारलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। साथै वेलायती सरकार, राजनीतिक दलहरू, यहाँको संसद र बेलायती नागरिकहरूमा नेपालप्रति यहाँहरूले राख्नुभएको आदर र सद्भावको लागि हार्दिक धन्यवाद दिन चाहन्छु।
नेपालीहरूले गोर्खाको नाममा बेलायती सेनामा गरेको लामो र अति विशिष्टकृत सेवा नै हाम्रा दुई देशका बीचको दुई शताब्दी लामो मित्रताको आधार हो। दुवै देशमा जेजस्ता परिवर्तन भए पनि हाम्रो दुई देशका बीचको सम्बन्धमा त्यसले कहिल्यै कुनै असर गरेन, बरू अझ प्रगाढ बन्दै गयो। दुई लाखभन्दा बढी गोर्खा सैनिकहरूले दुई विश्वयुद्धमा बेलायतको तर्फबाट युद्ध लडे, कतिले आफ्नो अमूल्य जीवन पनि गुमाए। बेलायती सरकारले उनीहरूको समर्पण र बलिदानको कदर गरी सम्मान गरेकोमा म खुशी छु।
सन् १९२३ मा नेपाल र बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको रूपमा विधिवत् विश्वसामु चिनायो। नेपाललाई विश्वसामु स्वतन्त्र र सार्वभौम राष्ट्र मान्ने बेलायतको यस कदमको हामी आभार प्रकट गर्दछौं। आज संयुक्त राष्ट्र संघका १९३ सदस्य राष्ट्रमध्ये १८२ राष्ट्रसँग हाम्रो कुटनीतिक सम्बन्ध रहेको छ।
समयसँगै हामीले हाम्रो सम्बन्धलाई हार्दिकता, विश्वास र सम्मानका साथ बहुआयामिक र पारस्परिक हितमा बदल्यौं। बेलायत नेपालको आर्थिक सामाजिक रूपान्तरणको अभियानमा महत्वूर्ण सहयोगी रहेकोछ। म आफैं पूर्वी नेपालको बासिन्दा हुँ, जहाँ सुरू सुरूका बेलायती सहयोगमा बनेका पूर्वाधारले धेरै सहयोग गरेको छ।
नेपालमा संकट परेको बेलामा बेलायतले गरेका निरन्तर सहयोगले हाम्रा दुई देशको सम्बन्धलाई असल मित्रका रूपमा अझ प्रगाढ बनाएको छ। म आफैं एउटा चिकित्सक र राजनीतिकर्मी भएकोले बेलायत सरकारले सन् २०१५ को विनासकारी भूकम्प र कोभिडको बेलामा गरेको सुरूका सहयोगहरू देखेको छु। त्यो बेलामा बेलायती विशेषज्ञहरूले गरेको सेवा र प्रदान गरेका उपकरणहरू हाम्रा लागि अत्यन्त उपयोगी रहे। यस्ता व्यवहारका कारण हाम्रो बेलायतीहरू प्रतिको श्रद्धा अझ बढेको छ।
नेपालको जलविद्युत, पर्यटन तथा कृषि तथा वनजन्य उद्यमको अपार सम्भावना अनि हाम्रा इमानदार र परिश्रमी कामदारका कारण नेपाल वैदेशिक लगानीको लागि अत्यन्त सम्भावना भएको क्षेत्रमा पर्दछ। नेपाल सरकारले बैदेशिक लगानीमैत्री वातावरण बनाएको छ। नेपालमा वेलायती लगानी राम्रो भए पनि अझ यसमा धेरै वृद्धि गर्न सकिन्छ।
नेपाल विश्वका द्रुतगतिमा आर्थिक विकास गरिरहेका र ठूला बजार भएका दुई देशका बीचमा अवस्थित छ। ती दुवै देशले हामीलाई व्यापारमा धेरै सुविधा दिन्छन्। यस्तो अवस्थामा बेलायती प्रविधिको सहयोगमा हामीले विभिन्न क्षेत्रमा मिलेर काम गर्न सक्छौं। तसर्थ म स्वच्छ ऊर्जा, पर्यटन, जलविद्युत, कृषि र प्रविधि लगायतका अन्य क्षेत्रमा नेपालमा लगानी गर्न यहाँका उद्यमीहरूमा आग्रह गर्न चाहन्छु।
बेलायत नेपालको प्रमुख व्यापारिक साझेदार हो। तथ्यांकले नेपाल धेरै नै व्यापार घाटामा रहेको देखाउँछ। संयुक्त अधिराज्यको Enhanced Framework Scheme अन्तर्गत प्राथमिकता प्राप्त बजार सुविधा हुँदा नेपाली उत्पादनहरुको उपलब्धता बेलायती बजारमा बढाउनुपर्ने देखिन्छ।
अब म यहाँ बस्ने नेपाली डायस्पोराको बारेमा केही भन्न चाहन्छु। चिकित्सक, नर्स, वकिल, विमान चालक, इन्जिनियर, एकाउन्टेन्ट र आतिथ्यताका क्षेत्रलगायत सबै क्षेत्रमा काम गर्ने नेपालीहरूले यहाँको चलायमान अर्थतन्त्रलाई अझ गतिशील बनाउन मद्दत गरिरहेका छन्। बढ्दो संख्याका नेपाली मुलका साथीहरू यहाँको चुनाव र चुनावी प्रक्रियामा भाग लिइरहेको थाहा पाउँदा खुशी लागेको छ।
नेपालका विभिन्न सहरहरू र संयुक्त अधिराज्यका विभिन्न सहरहरूका बीचको भगिनी सम्बन्धले जनस्तरको मित्रता प्रगाढ बनाएको छ। प्रतिष्ठित छात्रवृत्ति कार्यक्रम र यसका पूर्वविद्यार्थी समूहले जनस्तरको संवाद बढाएका छन्। माथिको तथ्यहरूले हाम्रो दुइपक्षीय मित्रता कति फराकिलो, सहयोगी र समृद्ध छ भन्ने दर्शाउँछ।
बेलाबेलाको उच्चस्तरीय राजकीय र सरकारी भ्रमणहरू, व्यवसायिक, व्यापारिक र सांस्कृतिक आवतजावत आदीले सम्बन्ध, सहयोग र विश्वास अझ बढाउन मदत गर्दछ। दुई देशका सांसदहरूको भ्रमणको आदानप्रदान त हाम्रा जस्तो बहुआयामिक सम्बन्धमा अझ जरूरी हुन्छ।
यहाँहरूलाई थाहा भएकै कुरा हो, विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो। त्यसैगरी बेलायतलाई संसदीय लोकतन्त्रको जननी मानिन्छ। यी दुई शान्ति र लोकतन्त्रको मान्यताले हाम्रा दुई देशको सम्बन्धलाई कसिलो बनाउँछ।
म नेपालमा लोकतान्त्रिक अभियान जगाउने परिवारमा जन्मेको हुँ। हामीले सन् १९४० को दशकदेखि विभिन्न प्रकारका लोकतान्त्रिक आन्दोलनहरू व्यहोरेका छौं। नेपालले धेरै राजनीतिक परिवर्तन देखेको छ। हाम्रो देश लामो र दु:खद आन्तरिक द्वन्दमा परेको छ। नेपाललाई लोकतान्त्रिक मुलुक बनाउने प्रक्रियामा नेपाली कांग्रेसले प्रमुख भूमिका निभाएको छ। अझ सशस्त्र माओवादी विद्रोहबाट शान्तिपूर्ण संवैधानिक सरकार बनाउने काम नेपाली कांग्रेसको नेतृत्वमा भएको छ। अझै धेरै काम बाँकी छन्। विगतमा विवेधमा परेका र हालका आन्दोलनबाट प्रभावित भएकाहरूको आँशु पुछ्ने काम जारी छ।
नेपालको संसदले हालै संक्रमणकालीन न्यायसम्बन्धी र सत्य निरूपण आयोग बनाउनेसम्बन्धी विधेयक पास गरेको छ। मलाई विश्वास छ, अब यसले सुशासनको माध्यमबाट राजनीतिक संक्रमणकालको अन्त्य गर्दै सार्वभौम, लोकतान्त्रिक, शान्त र समृद्ध नेपाल बनाउने हाम्रो बाचा पूरा गर्नेछ। हामी हाम्रो यस प्रयासमा बेलायतको साथ र सहयोगको अपेक्षा गर्दछौं।
हामी विकासका लागि लोकतन्त्र अपरिहार्य भएको विश्वास गर्दछौं। यसका लागि हामी जनअपेक्षा पूरा गर्न गाउँ र वडास्तरमा संघीय संरचना अनुरूप लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने प्रयासमा छौं। यसले सेवालाई गाउँ र वडास्तरसम्मै पुर्याउन मदत गर्दछ। जनताले अनुभव गर्ने विकास नभइ लोकतन्त्रको कुनै अर्थ हुन्न। त्यसैले हाम्रा जस्तो नयाँ लोकतन्त्रका लागि लोकतन्त्र, विकास र सेवा प्रवाह एकअर्काका परिपूरक भएका छन् र हामी त्यसैमा लागेका छौं।
आज हामी यो प्रयासमा विभिन्न चुनौतीहरू सामना गर्दैछौं। लोकरिझ्याइँ गर्ने राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवाद जस्ता कार्यले वहुलवाद र विकासलाई चुनौती दिइरहेका छन्।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले यो तथ्यलाई सन् १९७० को दशकमै बुझेर सचेत गराउँदै भन्नुभएको थियो, ‘लोकतन्त्र बचाउनुपर्छ, यसलाई कुनै बहानामा कतै बुझाउन हुन्न।’ उहाँका ती वाक्य आज अझ सान्दर्भिक भएका छन्।
नेपालको प्रमुख लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधिको नाताले म बेलायतको लेवर पार्टीप्रति यहाँले हाम्रा नेता बिपी कोइरालाको जीवनकालका अत्यन्त कठिन समय, जेल जीवनमा, निर्वासनका बेलामा र लोकतान्त्रिक आन्दोलनका बेलामा दर्शाउनुभएको सद्भाव र एकताका लागि विशेष धन्यवाद दिन चाहन्छु।
बिपीले सन् १९७० मा व्ल्याकपुलमा भएको लेवर पार्टीको सम्मेलनमा भाग लिनुभएको म यहाँ गौरवका साथ स्मरण गर्न चाहन्छु। यसरी नेपाल र नेपालीहरूमा ऐतिहासिक एकता, आपसी समझदारी, सद्भावना र सहयोगका लागि म मेरो र नेपाली कांग्रेस पार्टीको तर्फबाट लेवर पार्टीप्रति आभार प्रकट गर्न चाहन्छु। साथै यो मित्रताको निरन्तरताको विश्वास व्यक्त गर्दछु। माथिका तथ्यका आधारमा म तलका केही बुँदासहित आफ्नो भनाइ अन्त्य गर्न चाहन्छु।
१. विश्वमा शितयुद्धको समाप्तिसँगै राजनीति, अर्थतन्त्र र रणनीतिक दृष्टि इण्डो प्यासिफिक क्षेत्र र दक्षिण एसिया तर्फ मोडिएको छ। दक्षिण एसियाका ठूलो जनसंख्या विश्वका अरू देशमा गई त्यहाँको व्यवसायिक र सामाजिक जीवनमा परिवर्तनका लागि काम गरिरहेका छन्। यही क्रममा नेपाली डायस्पोरा वेलायतमा बसी नेपाल-बेलायत सम्बन्धलाई अझ बलियो बनाउन लागि परेको म देखिरेहेको छु। यसले नेपालमा लोकतान्त्रिक संस्थाको विकास र मानव अधिकारको क्षेत्रमा समेत योगदान पुर्याएको छ। साथै नेपाल व्रिटेन सोसाइटी र व्रिटेन नेपाल सोसाइटिले समेत यस कार्यमा योगदान पुर्याइरहेका छन्।
२. भूपरिवेष्ठित र अति कम विकसित मुलुक नेपालले विश्व वातावरणीय प्रभावमा आफ्नो योगदान नभइ पनि विभिन्न चुनौती सामना गरिरहेको छ। हाम्रो हिमालयन इकोसिस्टममा परेको प्रभावको न्यूनिकरण र वित्तपोषणको कार्यमा हाम्रा वेलायती साथीहरूले हामीलाई सहयोग गर्न सक्नु हुनेछ।
३. हाम्रा लागि दुई विशाल र शक्तिशाली राष्ट्रहरूका बीच सुमधुर सम्बन्ध राख्नु भौगोलिक आवश्यकता मात्र नभई विकेकपूर्ण ढंगवाट सञ्चालन हुने हाम्रो परराष्ट्र नीतिको आधारशीला समेत हो। नेपालको पुरानो साथी र पश्चिमा शक्तिको रुपमा बेलायतको नेपालको असंलग्न परराष्ट्र् नीतिको बुझाइले हामीलाई विश्व राजनीतिमा सहयोग पुग्छ।
४. मैले माथि नै भने- गोर्खा सैनिकको रूपमा नेपालीहरूले पुर्याएको सेवा हाम्रो सम्बन्धको केन्द्र हो। मेरो बुझाइमा उनीहरूका गुनासा सुन्न दुईपक्षीय समिति कार्यरत छ। हाम्रो लामो र गहन सम्बन्ध, उनीहरूले बेलायतमा इमान्दारिपूर्वक गरेको सेवा समेतलाई मध्यनजर गर्दै उनीहरूका जायज माग ढिला नगरी सम्बोधन गरिदिनुहुन म आग्रह गर्न चाहन्छु।
५. अन्त्यमा मलाई विश्वास लागिरहेको छैन, दुई सय वर्षको अवधिमा कुनै बेलायती प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नु भएको छैन। अत्यन्त द्रुत गतिमा परिवर्तन भइरहेको विश्वमा हाम्रो जस्तो सम्बन्ध भएका दुई देशका लागि प्रधानमन्त्रीको यो बहुप्रतिक्षित भ्रमणले फलदायी सन्देश दिनेछ।
ऐतिहासिक, साझा भोगाइहरू र समान आकांक्षाबाट बनेको हाम्रो सम्बन्ध परिवर्तित अवस्थामा पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण छ। लोकतन्त्र, मानव अधिकार, वहुलवाद, सुशासन हाम्रा जनताका आकांक्षा र हाम्रा सरकारका प्रतिबद्धता हुन्। यही मूल्य र मान्यताले हाम्रो मित्रतालाई अझ उचाइमा पुर्याउन मदत गर्दछ।
यही अपेक्षाका साथ म यो संवादलाई लण्डनमा स्वागत गर्दछु र काठमाडौंमा समेत निरन्तरता दिने विश्वास दिलाउन चाहन्छु।