परराष्ट्र मन्त्री आरजु राणा देउवाले हमास समूहसँग वार्ता गर्न लागेका कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग कुराकानी गरेकी छन्।
परराष्ट्र मन्त्री राणाले मंगलबार बिहान कतारका विदेश राज्यमन्त्रीसँग फोनवार्तामा कुराकानी गर्दै नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको परराष्ट्र मन्त्री राणाको सचिवालयले जानकारी दिएको छ।
यो पनि: गजामा युद्धविराम र बन्दी रिहाइको वार्तामा ‘ब्रेक थ्रु’
कतारका विदेश राज्यमन्त्री खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार तथा मध्यस्थकर्ता हुन्।
गजामा युद्धविरामको पहल गरिरहेका दुवैतर्फका वार्तकारहरू मंगलबार राति कतारको दोहामा अन्तिम सम्झौताका लागि भेट्ने तय भएको छ। त्यसअघि परराष्ट्र मन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि प्रमुख वार्ताकार मन्त्री खुलाइफीसँग कुराकानी गरेकी हुन्।
मन्त्री राणाले कतारका मन्त्री खुलाइफीसँगको फोनवार्तामा हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केही बन्दीलाई अपहरणमुक्त गर्न लागेको समाचार आएकाले विपिनको रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरेको मन्त्रालयले जनाएको छ।
मन्त्री राणाले कतार नेपालको सदैव हितैषी मित्रराष्ट्र रहेको प्रसंग उल्लेख गर्दै कतारले हमाससँगको सम्पर्कमा रहेर शान्ति वार्ताका लागि युद्धविराम गराउन विशेष पहल गरिरहेकाले नेपाली विद्यार्थी जोशीको रिहाइका लागि पनि विशेष पहल गरिदिन अपिल गरेकी हुन्।
कुराकानीका क्रममा कतारका मन्त्री खुलाइफीले हमासलाई इसराइलसँग युद्धविराममा ल्याउने विषय सकारात्मक रुपमा अघि बढिरहेको जानकारी गराएका थिए।
हमासको अपहरणमा रहेकाहरूको मुक्तिका लागि कतार सरकारले पहल गरिरहेको उनको भनाइ छ।
कतारका मन्त्री खुलाइफीले नेपाली युवा विपिनको रिहाइलाई अपिल गर्ने कुरा पनि आफूहरूले प्राथमिकतामा राखेको बताउँदै पहिलो चरणमा उनीहरूले केही बन्दी रिहा गर्ने सूचना दिएकाले सकेसम्म पहिलो चरणमै र त्यो सम्भव नभएमा बाँकीको रिहाइका क्रममा विपिन अपहरण मुक्त हुनेमा आफू विश्वस्त रहेको बताएका थिए।
सन् २०२३ को अक्टोबरमा इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० जना नेपालीसहित एक हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए। त्यसलगत्तै उनीहरूले केही व्यक्तिलाई अपहरण गरी लागेकामा विपिन जोशी पनि रहेका छन्।