नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अहिलेको सरकार बन्ने बेला राष्ट्रपति रामचन्द्र पौडेलमाथि धर्मसंकटमा पारिएको दाबी गरेका छन्।
आफूले विश्वास मतका लागि प्रतिनिधि सभामा प्रस्ताव राखे पनि बहुमत नआएको प्रसंग उल्लेख गर्दै उनले त्यसपछि संविधानको धारा ७८ को उपधारा ३ अनुसार सरकार गठन हुनुपर्ने उल्लेख गर्दै त्यसबेला राष्ट्रपतिमाथि धर्मसंकट हुने गरी दबाब परेको बताएका हुन्।
आफूले विश्वास मत नपाएपछि संविधानको धारा ७६ को ३ अनुसार ठूलो दलको नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुपर्ने भए पनि त्यसबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको दाहालको भनाइ छ।
ओली गत असार ३० गते संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए। कांग्रेस र एमालेको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए।
भिडिओ:
‘विश्वास मतको निम्ति म भोटिङमा गएँ। फेल भयो। त्यसपछि कांग्रेसको दल नेताको नेतृत्वमा नयाँ सरकार हुनुपर्ने हो। तर उहाँहरूले संविधान मिच्नुभयो,’ कांग्रेस र एमालेप्रति लक्ष्य गर्दै दाहालले भने, ‘राष्ट्रपतिजी अन्तिम समयसम्म धारा ७६ को उपधारा ३ अनुसार सरकार बनाउन आह्वान गर्न तयार हुनुहुन्थ्यो। तर मैले जे बुझेको छु, राष्ट्रपतिमाथि यस्तो दबाब दिइयो कि उहाँलाई धर्मसंकटमा पारियो। निकै ठूलो धर्मसंकटमा।’
त्यसकारण अहिलेको सरकारलाई आफूले असंवैधानिक सरकार पनि भएको उनले बताए।
अहिलेको सरकारले राम्रो काम नगर्ने पनि उनले दाबी गरेका थिए।
‘यति हुँदाहुँदै पनि हाम्रो पार्टीले अहिले नै सरकार गिराउने, तुरून्तै सरकारमा जाने जमर्को गरेको छैन,’ उनले भने, ‘पार्टी संगठन सुदृढ गर्ने अभियानमा छौं। त्यसलाई जनताले पनि राम्रो मानेका छन्, हामीले पनि रिल्याक्स गरेका छौं।’
यो पनि: सरकार अध्यादेशबाट शासन गर्ने उल्टो बाटो हिँड्यो: प्रचण्ड