नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारले सदन फेस गर्न नसकेको बताएका छन्।
दुई तिहाइ बहुमत छ भन्ने सरकारले सजिलै सदनबाट विधेयक पास गर्न सक्ने भए पनि अध्यादेश ल्याउनुले नियत नै खराब छ भन्ने देखाएको उनले बताए।
‘विपक्षी दलहरूका तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र दिएर सदन बोलाउन पनि भनेका छौं तर सरकार सदन बोलाउन ढिलो गर्ने र अध्यादेश ल्याएर शासन गर्ने उल्टो बाटो हिँडिरहेको छ, त्यसप्रति पनि आमविरोध भइरहेको छ,’ सिन्धुपाल्चोकमा मंगलबार पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष दाहालले भने, ‘दुई तिहाइ बहुमत छ भन्नेले सजिलै सदनबाट विधेयक पास गर्नुपर्नेमा किन अध्यादेशको बाटो हिँड्यो?’
भिडिओ:
दुई तिहाइ बहुमत भए पनि अहिलेको सरकारले सदन फेस गर्ने नैतिक साहस नदेखाएको उनले बताए।
‘अध्यादेश ल्याएर शासन गर्ने प्रक्रिया बढाएको यो सरकार सबैभन्दा कमजोर, निरीह, गैरजिम्मेवार र अलोकतान्त्रिक सरकार हो,’ उनले भने, ‘सदन छिटो सुरू होस् र लोकतान्त्रिक प्रक्रियाबाट नै अघि बढोस् भन्ने हामी चाहन्छौं।’
सरकारले गत शुक्रबार ५ वटा अध्यादेश ल्याउने निर्णय गरेकोमा सोमबार राष्ट्रपतिले चार अध्यादेश जारी गरेका छन् भने भूमिसम्बन्धी अध्यादेश अध्ययनकै क्रममा राखेका छन्।
यो पनि: सरकारलाई प्रश्न- सुधारका विषय समेट्न पनि संसद छलेर किन ल्याइयो अध्यादेश?