पार्टीको साधारण सदस्य समेत नरहने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निकालिएका पूर्वमहामन्त्री मुकुल ढकाल कोशी प्रदेशको संगठनमा भने बलियो देखिएका छन्।
केन्द्रीय सदस्य समेत रहेका रास्वपा कोशीका सभापति राजेश तिमिल्सिनालाई कारबाही गर्न भन्दै आएको केन्द्रीय अनुशासन आयोगको टोली बैठक नै गर्न नसकी काठमाडौं फर्केको घटनालाई प्रदेशका नेताहरूले मुकुलमाथि गरिएको कारबाहीको विरोधका रूपमा बुझ्नुपर्ने बताएका छन्।
'६२ सदस्यीय प्रदेश समिति सदस्यमध्ये जम्मा १३ जना मात्रै उपस्थित थिए। बाँकी हामी सल्लाह गरेरै अनुपस्थित रहेका हौं,' रास्वपा कोशी प्रदेश समितिका एक सदस्यले सेतोपाटीसँग भने, 'हामी मुकुलजीसँग सल्लाह गरेरै बैठकमा नगएका हौं। विचार व्यक्त गर्दैमा कारबाही हुने अवस्था ल्याउन यो दलमा लागेका होइनौं।'
केन्द्रीय अनुशासन आयोगले मुकुललाई पार्टीमा पूर्ववत पुनः स्थापना गर्नुपर्छ भन्ने कोशी प्रदेशका सभापति तिमल्सिनाविरूद्ध कारबाही प्रक्रिया अघि बढाउन आइतबार बैठक बोलाएको थियो। आयोगको उपस्थितिमा तिमिल्सिनालाई कारबाही गर्ने योजनासहित सुनसरीको इटहरीमा बैठक गरिएको थियो। तर बैठकमा गणपूरक संख्या नपुगेपछि इटहरी नगर समितिका सदस्यहरू बोलाएर कार्यक्रम भएको रास्वपा स्रोतले बताएको छ।
मुकुललाई पुनः स्थापना गर्नुपर्ने तिमल्सिनाको अभिव्यक्तिपछि आयोगले स्पष्टीकरण माग्दै कोशी प्रदेश कमिटीको बैठक बोलाएको थियो। बैठकमा प्रदेश अध्यक्षमाथि कारबाही गर्ने भए आफूहरू नआउने खबर पठाएको प्रदेशका सदस्यहरूले बताएका छन्।
'बहुमत सदस्यहरू बैठकमा नजानेमा ढुक्क थियौं। तर यति धेरै जना नै नजालान् भन्ने लागेको थिएन, 'ती सदस्यले भने, 'बोल्न नसके पनि बैठकमा अनुपस्थित रहेर हामीले मुकुलजीको पुनः स्थापना र प्रदेश अध्यक्षको अभिव्यक्तिको पक्षमा आफूलाई उभ्याएका हौं।'
मुकुल पनि कोशी प्रदेशकै बासिन्दा हुन्। विराटनगर घर भएका उनले आफ्नै अग्रसरतामा कोशी प्रदेश कमिटी बनाएका थिए। कोशीका बहुसंख्यक रास्वपा नेताहरू सभापति रवि लामिछाने र पूर्वमहामन्त्री मुकुल मिलेर अघि बढ्नुपर्ने पक्षमा रहेको नेताहरू बताउँछन्।
प्रदेश समितिका दुई-तिहाई भन्दा बढी सदस्य बैठकमा नआएपछि अनुशासन आयोगका अध्यक्ष भरतमणि देवकोटा सहितको टिम अर्को बैठक नबोलाई काठमाडौं फर्केको छ।
बैठकमा पाँच सदस्यीय कार्यसम्पादन समितिका पनि दुई सदस्यहरू; उपाध्यक्ष शरिन तामाङ र महामन्त्री लालविक्रम थापा मात्र सहभागी हुन उपस्थित थिए।