नेपाली कांग्रेसका नेता एनपी साउदले यो अन्तिम आशाको सरकार भएकोले जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताएका छन्।
गत असार १७ गते कांग्रेस र एमालेबीचको ७ बुँदे सहमतिको जगमा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा संघीय सरकार बनेको थियो।
कांग्रेस जिल्ला कार्यसमिति नवलपरासी (सुस्ता पूर्व) ले सोमबार गरेको कार्यक्रममा बोल्दै साउदले भने, ‘यो अन्तिम आशाको सरकार भएकोले जनताको अपेक्षा अनुसारको काम गर्न आवश्यक छ। जनताका पक्षमा काम गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने काममा सरकारलाई सहयोग गर्न कांग्रेस प्रतिबद्ध छ।’
उनले पार्टीलाई बलियो बनाउनका लागि भ्रातृ संस्थाहरूलाई सक्रिय बनाउनुपर्ने बताए।
‘पार्टीका भ्रातृ संस्था भनेको शरीरको नशाजस्तै हुन्। शरीरलाई चलायमान बनाउन नसाबाट रक्तसञ्चार आवश्यक भएजस्तै पार्टीका एजेन्डालाई तल्लो तहमा पुर्याउन भ्रातृ संस्थाहरूलाई लोकतान्त्रिक बनाउन हामी लाग्न आवश्यक छ,’ साउदले भने, ‘पार्टीका भ्रातृ संस्थाको निर्वाचन गराएर जतिसक्दो छिटो नयाँ नेतृत्व प्रदान गर्ने काममा जिम्मेवारी प्राप्त साथीहरूले गर्नु हुनेछ।’
साउदले कांग्रेस–एमाले गठबन्धनको सरकारलाई अन्तिम आशाको सरकारको संज्ञा दिँदै जनपक्षीय काममा सरकारलाई सहयोग गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए।
लुम्बिनी प्रदेशका जिल्लाहरू दौडाहमा रहेका नेता साउदले अभियानका क्रममा दिएको अभिव्यक्तिहरू कुनै व्यक्ति विशेष नभएर जनताले उठाएका कुरा बोलेको बताए।