प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै दल फुटाउने वा मिलाउने काम आफूले नगर्ने बताएका छन्।
तर राजनीतिक दलसम्बन्धी कानुनलाई भने सच्याउनुपर्ने उनको भनाइ छ।
दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर केहीले झुटो कुरा फैलाएको पनि उनले बताए।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बालुवाटारमा सोमबार शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने, ‘दल विभाजन गराउनेसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुट र नकारात्मकता फैलाइयो। कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय हुन्।’
विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत चाहिने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको र विरोध आएपछि फिर्ता लिएको पनि बताए।
त्यसबेला विरोध गर्नेहरूले २० प्रतिशत सांसदले पनि दल विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको उनको भनाइ छ। उनले आफू त्यस्तो कुकर्म गर्ने मनसाय नरहेको पनि बताएको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको पनि बताए।
तर कांग्रेस सभापति शेरबहादुर देउवाबाट त्यस्को विरोध भयो भन्ने झुटो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्ने उनले जोड दिए।
यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरूपयोग हुन नदिन पत्रकार महासंघले पनि भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।
जारी हुन नै बाँकी रहेको अध्यादेशलाई राति राति जारी गर्यो भनेर सम्प्रेषण गरिएको सुनाउँदै उनले देश र जनताका पक्षमा आफूहरूले दिन र रात नभनी काम गरेको दाबी गरे।
‘हामी १०–५ को जागिर खान आएका होइनौं। देश र जनताप्रतिको जिम्मेबारी बोध गरेर दिउँसो वा राति काम हुन्छ। लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन। देशका हितमा खुलेआम काम गर्ने हो,’ उनले भने।