राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय अनुशासन आयोगले कोशी प्रदेशका सभापति राजेश तिमिल्सिनाविरुद्ध कारवाही प्रक्रिया अघि बढाउन आइतबार बोलाएको बैठक कोरम नपुगेपछि रद्द भएको छ।
मुकुल ढकाललाई पुनःस्थापना गर्नुपर्ने तिमल्सिनाको अभिव्यक्तिपछि आयोगले स्पष्टीकरण माग्दै कोशी प्रदेश समितिको बैठक बोलाएको थियो।
इटहरीको दुर्गा पार्टी प्यालेसमा बोलाइएको बैठकमा सदस्यहरू नै नआएपछि केन्द्रीय अनुशासन आयोगका अध्यक्ष भरतमणि देवकोटा त्यसै फर्किएको रास्वपा कोशी प्रदेशका एक नेताले जानकारी दिए।
उनका अनुसार ६२ सदस्यीय प्रदेश कमिटीका केवल १३ सदस्य मात्र बैठकमा उपस्थित थिए । त्यस्तै, पाँच सदस्यीय कार्यसम्पादन समितिका केबल दुई सदस्यहरू; उपाध्यक्ष शरिन तामाङ र महामन्त्री लालविक्रम थापामात्रै सहभागी थिए।
बैठकमा आएका सदस्यहरू पनि तोकिएको समयभन्दा ४० मिनेट ढिला उपस्थित भएका थिए। उनीहरूले बाँकी सदस्यहरूको प्रतिक्षा गरेको भएपनि आवश्यक कोरम नपुगेपछि बैठक रद्द भएको ती नेताले बताए।
उनकाअनुसार, प्रदेश समिति सदस्यहरूको न्यून उपस्थिति रहेपछि इटहरी नगर समितिका वडा सभापतिहरूलाई पनि बैठकमा बोलाइएको थियो।
यो घटनाले कोशी प्रदेश कमिटी र रास्वपाभित्रको व्यवस्थापन र आन्तरिक नेतृत्वमा देखिएको चुनौतीलाई उजागर गरेको उनले बताए। साथै मुकुल ढकालको पदमुक्ति र त्यसपछि उठेका विवादहरूका कारण पार्टीभित्र असन्तुष्टि बढ्दै गएको पनि उनको भनाइ छ।
रास्वपाले यो घटनाबारे र आगामी कदमका सम्बन्धमा औपचारिक धारणा भने सार्वजनिक गरेको छैन । तर, आइतबारको बैठक रद्द भएपछि तिमल्सिना विरुद्धको कारवाही प्रक्रिया अनिश्चित बनेको छ।
पार्टी थप कमजोर भएको भन्दै ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै तिमिल्सिना र रास्वपा मधेस प्रदेश सभापति तपेश्वर यादवले पुस १७ गते कार्यवाहक सभापति डिपी अर्याललाई पत्र लेखेका थिए।
पढ्नुस्ः डा. मुकुल ढकालका पक्षमा उभिए रास्वपाका दुई प्रदेश सभापति