नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टीको १५ औं महाधिवेशनमा सभापति पदका लागि आफूसहित नेताहरूको नाम चर्चामा आइरहेको बताएका छन्।
दाङमा आइतबार भएको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वमहामन्त्री कोइरालाले भने, ‘आउँदो महाधिवेशनमा पार्टी सभापतिका लागि कुरा चलिरहेको छ, म पनि लड्छु कि भन्ने प्रश्नहरू छन्। शेखर दाइ हुनुहुन्छ, गगन थापालगायत अरू पनि छन्।’
पार्टी सभापतिमा लड्छु भन्नेहरूको कार्यक्रम के हो भनेर कार्यकर्ताले सोध्नुपर्ने पनि कोइरालाले बताए।
‘सभापतिमा लड्छु भन्नेहरूको नीति तथा कार्यक्रम के, त्यो सोध्नुस्,’ कोइरालाले भने, ‘मलाई सोध्नुहुन्छ भने म त भनिदिन्छु। तर अहिले नै भन्दिनँ।’
उनले आउँदो महाधिवेशनमा आफू पनि सभापति पदमा उठ्ने संकेत गरेपछि कार्यक्रमका सहभागीले नीति तथा कार्यक्रम के हुन् भन्न जोड गरेका थिए।
मञ्चमा रहेका एक नेताले उठेर 'तपाईंका नीति तथा कार्यक्रम के हुन् भनिदिनुस् अनि अरूलाई पनि सोध्न मिल्छ नि!'
यसपछि कोइरालाले हाँस्दै भने, ‘म चाहन्छु बिपी कोइरालाकै विचार र सिद्धान्तका आधारमा पार्टी अघि बढोस्।’
कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो। विधानअनुसार २०८२ मंसिरमा १५ औं महाधिवेशन हुनुपर्ने हो तर कांग्रेसले क्रियाशील सदस्यता नवीकरणलगायत काम तीव्रता दिन सकेको छैन।
यसअघि चितवनमा कोइरालाले २०८४ को चुनावपछि महाधिवेशन गरे पनि हुने बताएका थिए।