नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले कानुन बन्न लामो समय लाग्ने भएका कारण सरकारले अध्यादेश ल्याएको हुनसक्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले लामो समयसम्म कानुन नबनेका दृष्टान्तहरू रहेको बताउँदै अत्यावश्यक कानुन संशोधनका लागि अध्यादेश ल्याएको बताएका हुन्।
'हामी कहाँ कतिपय कानूनहरु बन्न तीन वर्ष, चार वर्ष लाग्ने गर्दछ। ५ वर्ष लाग्ने गरेको पीडादायिक अनुभव पनि व्यहोरेका छौं सहकारी पीडितहरु महिनौँदेखि लडिरहनुभएको छ। सडकमा हुनुहुन्छ। कतिले उपचार नपाएर ज्यान गुमाउनु परेको छ। अहिलेसम्म कमाएको पैसा सहकारीमा जम्मा गरेको हुनुहुन्छ। केही मान्छेहरुले अनियमितता गरे। रकम दुरुपयोग गरे। उहाँहरु सडकमा हुनुहुन्छ। हामीले एक वर्षपछि कानून न्याय बनाउँछौँ भनेर क्यान्सर पीडितले त पर्खिएर बस्न सक्दैन होला। त्यस्ता समस्या पर्दछन् भनेर नै संविधानले अध्यादेशको व्यवस्था गरेको होला,' उनले भने।
उनले संसदको अधिवेशन नचलिरहेको बेलामा सरकारले अध्यादेश ल्याउनसक्ने व्यवस्था संविधानमै रहेको पनि उनले बताए।
‘संविधानको धारा ११४ ले अध्यादेशहरुको व्यवस्था गरेको छ। सरकारले संसदको अधिवेशन नचलिरहेको बेला अध्यादेश ल्याउनसक्छ। त्यो चाहीँ पार्लियामेन्टको अधिकारलाई कटौति गरेको होइन सदनको पहिलो बैठकमै अध्यादेशहरु टेबुल हुन्छन् र यदी संसदले रिजेक्ट गर्यो भने विधेयक स्वतः निष्क्रिय हुन्छन्,' उनले भने।
(न्युज एजेन्सी नेपाल)