नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समिकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको २३ औं वार्षिक साधरण सभामा बोल्दै महामन्त्री थापाले कांग्रेस र एमाले मिलेर बनेको सरकार लामो समय चलेको दृष्टान्तहरू पनि रहेको बताए।
'विगतमा नेपाली काँग्रेसका गिरिजाप्रसाद कोईराला र एमालेका मनोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि हुन्छ। यो पटक काँग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्छ,' उनले भने।
ठूला पार्टी मिलेर सरकार बनाउँदै गर्दा जनताले बेनिफिट पनि पाउनुपर्ने उनले बताए।
'पहिला पनि पाएको थियो। २०४८ सालमा संविधान पायो। २०७० मा संविधान पायो। अहिले के पाउने हो। अहिले केही पाउनुपर्दैन सबै कुरा सम्हाल्छौं। अहिलेसबै भन्दा बढी बिग्रेको अर्थतन्त्र हो। अर्थतन्त्रको क्षेत्रमा ठोस रुपमा सुधार हुनुपर्छ। अनि मात्रै दुई पार्टी मिलेर सरकार बनेको अर्थ रहन्छ,' उनले भने।
वर्तमान सत्ता समिकरणले दिनरात नभनि अर्थतन्त्र सुधारको लागि काम गरिरहेका महामन्त्री थापाले भने।
'निजी क्षेत्रलाई व्यापार व्यवसायलाई सुकुलो र नीतिगत रुपमा सुधार गरौं भन्ने हो। धेरै कुरा बिग्रिएकाले थोरै समय लाग्छ तर वर्तमान सरकारले सम्हाल्छ,’ उनले भने।