गृहमन्त्री रमेश लेखकले समाजमा लागुऔषध सेवन,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन्।
शुक्रबार महेन्द्रनगरमा एन प्याब्सन कञ्चनपुरले आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अहिले मुख्य चुनौतीका रूपमा लागुऔषध सेवन, आत्महत्या र सडक दुर्घटना रहेको बताए।
उनका पछिल्लो समय लागुऔषधले भयावह स्थिति रहेको बताउँदै यसको न्यूनीकरणका लागि विद्यालय स्तरबाट अभियान सञ्चालन गर्नुपर्ने बताए।
‘समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएको छ,’ गृहमन्त्री लेखकले भने, ‘लागुऔषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्ने छ। यसका लागि एनप्याब्सनले विद्यालयस्तरबाटै सुरूवात गरोस्।’
उनले लागुऔषधले घरघरका बालबालिकाहरू प्रभावित भइरहेकाले स्थानीय सरकार र निजी संघ संस्था सबैले गम्भीर रूपमा लिएर लागुऔषधको विरूद्धमा अभियान सञ्चालन गर्नुपर्ने बताए।
त्यसैगरी उनले निजी तथा आवासीय विद्यालयहरूले शिक्षाको गुणस्तरीय वृद्धि गर्न महत्वपूर्ण भूमिका रहेको बताए।
‘सरकारले संविधानमा नै निःशुल्क शिक्षा र अनिवार्य शिक्षाको व्यवस्था गरेका छौं,’ उनले भने, ‘त्यसकारण सामुदायिक विद्यालय राम्रो गुणस्तरका साथ अघि बढुन्, तीनै तहका सरकारले यसमा ध्यान दिनुपर्छ।’
उनले शिक्षाको क्षेत्रमा निजी र आवासीय विद्यालयको पनि महत्वपूर्ण भूमिका रहेको बताउँदै सार्वजनिक र सामुदायिक विद्यालयको गुणस्तर बढेको बताए।
‘सरकारले निजी विद्यालयलाई पनि राम्रोसँग सञ्चालन गर्ने कुरामा सरकार लाग्नेछ,’ उनले भने, ‘शिक्षाको गुणस्तरसँग सम्झौता गर्ने कुरा, चर्को शुल्क लिने कुरामा सरकारले नियमन गर्नुपर्छ।’
उनले अहिले संघीय संसदमा विद्यालयसम्बन्धी विधेयक छलफलमा रहेको बताए।
‘हामी शिक्षा विधेयक पारित गरेर शिक्षाको क्षेत्रमा राम्रो कानुन निर्माण गरेर शिक्षालाई अत्यन्त सुलभ, सरल र सबै नेपाली नागरिकको पहुँच हुन सक्नेतर्फ सरकार लाग्नेछ,’ उनले भने।
त्यसैगरी उनले खेल महोत्सवले विद्यार्थीहरूको चौतर्फी विकासमा टेवा पुग्ने बताए।