नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले काठमाडौं उपत्यकामा मात्रै विद्युतीय सवारी साधनको प्रयोग बढाउनसके पनि जलवायु परिवर्तनका असर न्यूनीकरणमा मद्दत पुग्ने बताए।
‘नेपालमा जलवायु परिवर्तनले निकै ठूलो समस्या भइरहेको छ। हिमालहरू पग्लिएका छन्, हिउँ नै छैन। बिस्तारै-बिस्तारै नेपालमा धेरै ठूलो समस्या आउन सक्दछ,’ उनले भने, ‘अहिले यस सम्बन्धमा नेपालले चाहेर मात्रै त हुँदैन तर नेपालले धेरै गर्नसक्छ। काठमाडौंमा त हामीले फसल फ्युललाई कम गर्नसक्छौं। विद्युतीय सवारी अघि बढाउनसक्यौं भने पनि काठमाडौंबाट पनि धेरै ठूलो काम गर्न सकिन्छ। विद्युतीय सवारीसाधनका लागि ठाउँठाउँमा चार्जिङ स्टेशन राख्न सक्नुपर्छ।’
(न्युज एजेन्सी नेपाल)