राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा आफै उपस्थित हुने भएका छन्।
बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रूपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
उक्त आदेशसँगै लामिछानेले ६५ लाख रूपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएको पार्टी कार्यवाहक प्रवक्ता मनीष झाले सेतोपाटीलाई जानकारी दिए। कात्तिक २ गते पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने ८४ दिन हिरासतमा बसेका छन्।
उनले धरौटी बुझाएपछि मेडिकल जाँच गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एक प्रहरी अधिकारीले जानकारी दिए।
‘मेडिकल गराएर परिवार र पार्टीको जिम्मामा छोड्ने हो। भोलि आफै काठमाडौं अदालत उपस्थित हुने भन्नुभएको छ,’ उनले भने।
लामिछानेलाई उनकी श्रीमती निकिता पौडेल र रास्वपाका उपसभापति डिपी अर्यालको जिम्मामा छाड्न लागिएको हो।
बिहीबार कास्की जिल्ला अदालतले सात जना प्रतिवादीसँग धरौटी माग गरेको थियो। पूर्वडिआइजी छविलाल जोशीलाई पनि ८८ लाख रूपैयाँ धरौटी माग गरिएको थियो।
लामिछाने र जोशीविरूद्ध काठमाडौंमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको आरोप समेत छ। उक्त सहकारीमा प्रतिवादी रहेका दुई जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिइसकेको छ।
लामिछानेको काठमाडौंमा थुनछेक बहस सकिएपछि अन्य जिल्ला अदालत रूपन्देही, चितवन र पर्सामा पनि उपस्थित हुनुपर्नेछ।
कमल सुवेदीसँग तीन लाख र सुनिता नेवासँग चार लाख रूपैयाँ धरौटी माग गरेको थियो।