नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति दुई दलबीचको सहमतिविपरीत रहेको बताएका छन्।
कांग्रेस बर्दियाले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तर्क्रियामा पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका नेता साउदले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक रहेको बताए।
‘हामीले गठबन्धन गर्दा नै संविधानमा केही–कमजोरी देखिएका छन्। यसलाई संशोधन गर्ने बुँदा राखिएको छ र प्रतिबद्धता व्यक्त गरेका छौं,’ साउदले भने, ‘तर यही सहमतिमा प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले नै ०८७ मा संशोधन गर्ने जुन अभिव्यक्ति दिनुभएको छ, यो सरकार गठनका लागि भएको सहमति विपरीत छ। यसले गठबन्धनको औचित्य र सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक छ।’
नेता साउदले सरकारलाई जनताका समस्या समाधानका लागि केन्द्रित हुन पनि आग्रह गरेका छन्। जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नुपर्ने उनले बताए।
‘अहिले कांग्रेस पनि सामेल भएको सरकारले जनताका समस्या समाधानका लागि केन्द्रित हुनुपर्नेमा आग्रह गर्न चाहन्छु। अहिले पनि भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको छैन,’ साउदले भने, ‘जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नुपर्दछ। विकास बजेटको पनि सन्तुलित वितरण र सदुपयोग हुन सकेको छैन।’