सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि बनाइएका संरचनाहरूबाट स्वास्थ्य सेवा सुरू गर्नुपर्ने सांसदहरूले माग राखेका छन्।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बौल्दै सांसदहरूले यस्तो माग राखेका हुन्।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथिको छलफलमा सहभागी हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले विश्वविद्यालयको लागि बनाइएको संरचनाले सुदूपश्चिमलाई जिस्क्याएर बसेको भन्दै स्वास्थ्य सेवा सुरू गर्नुपर्ने माग राखिन्।
उनले सेती प्रादेशिक अस्पतालमा बिरामीको थेगिनसक्नु भिड भएको उल्लेख गर्दै विश्वविद्यालयका लागि बनाइएको संरचना प्रयोग गर्न विधेयक कुर्न नहुने बताइन्।
उनले सेती प्रादेशिक अस्पतालमा एउटै बेडमा तीन/तीन जना बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै कुनै प्रकोप आएको खण्डमा उक्त अस्पतालले धान्न नसक्ने बताइन्।
उनले स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रलयबीच समन्वय गर्न लगाएर सेती अस्पतालमा अपुग भएका स्वास्थ्य सेवाहरू विश्वविद्यालयका लागि बनाइएको संरचनामा विस्तार गर्नको लागि निर्देशन दिन समितिसमक्ष माग गरिन्।
उनले विधेयकहरू विधेयकका लागि मात्र ल्याइन्छन् कि सेवा दिनको लागि? भन्दै प्रश्न समेत गरिन्।
उनले भनिन्,‘विधेयकहरू विधेयकका लागि मात्र ल्याइन्छन् कि सेवा दिनको लागि? संरचनाहरू जनतालाई सेवा दिनको लागि निर्माण गरिन्छन् कि जिस्क्याउनका लागि? ७५ बिघा जमिनमा झन्डै ८ अर्ब जति खर्च गरेर त्यत्रा ठूलाठूला संरचनाहरू बनाइएका छन् धनगढीमा। त्यस संरचनाले सुदूरपश्चिमलाई जिस्काएर बसेको छ। तर बिरामीहरू काठमाडौंसम्म आउनुपर्ने अवस्था छ। त्यहाँ नजिकै सेती प्रादेशिक अस्पताल छ। त्यहाँ यस्तो बिजोक स्थिति छ। बिरामीको चाप यति धेरै छ कि एउटै बेडमा दुई तीन जना बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था छ। अस्पतालको गेटदेखि नै बिरामीको यति धेरै भिड छ। यदि कुनै प्रकोप आएछ भने त्यो अस्पतालले धान्न सक्दैन। त्यहाँ नजिकै ७५ बिघाका संरचना हाँसेर गिज्याएर बसेको अवस्था छ। ती संरचनाहरूले स्वास्थ्य उपचार सेवा दिनको लागि यो विधेयकलाई कुरेर बस्ने हो? कहिले प्रतिष्ठान भनिने, कहिले विश्वविद्यालय भनिने तर अलपत्र रहेर बसेको अवस्थामा स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रलयबीच समन्वय गर्न लगाएर सेती अस्पतालमा अपुग भएका सेवाहरू त्यहाँको संरचनामा विस्तार गर्नको लागि निर्देशनको माग गर्दछु।’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसाधारणका छोराछोरीको समेत चिकित्सा शिक्षमा पहुँच पुग्ने गरी ल्याउनुपर्ने बताए।
उनले चिकित्सा शिक्षा अत्यधिक महँगो भएकाले सर्वसाधारण बञ्चित हुनुपरेको बताए। उनले विश्वविद्यालयका प्राध्यापकहरू र कर्मचारीहरू मुलुकको विकासका लागि निःस्वार्थ भावनाले लाग्नुपर्ने समेत बताए।
उनले भने, ‘चिकित्सा शिक्षा सर्वसाधारण जनताका छोराछोरीले पाउने गरेर विधेयकमा राख्यौं भने चिकित्सा शिक्षा पढ्न एक करोड चाहिन्छ भने सामान्य जनताले पाउने भएन। त्यसकारण यो विषय पनि यस विधेयकमा राख्दा सहिद दशरथ चन्दको नाममा आएको विश्वविद्यालयले हामीलाई पढाउने रहेछ भन्ने आशा जनताले पनि देख्छन्। अर्को, विश्वविद्यालयका प्राध्यपक, कर्मचारी र विद्यार्थीहरूबीच देश र जनताको निस्वार्थपूर्वक सेवा गर्ने छलफल गर्नुपर्छ भनेर लेखिदिनुपर्छ। नत्र देशको लागि चिकित्सकहरू चिन्तित नै नहुने भयो। उसलाई पनि त देशको चिन्ता हुनुपर्छ नि। यो विषय पनि यहाँ राखौँ।’
नेकपा (एमाले) का सांसद रघुजी पन्तले सबै विश्वविद्यालयहरूको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री राख्न नहुने धारणा राखे।
उनले त्रिभुवन विश्वविद्यालयको कुलपति प्रधानमन्त्री राखे पनि अन्य विश्वविद्यालयको कुलपति प्रदेश प्रमुखलाई बनाउनुपर्ने माग राखे।
उनले छिमेकी मुलुक भारतमा समेत सोही अभ्यास भइरहेको बताए।
उनले भने, ‘यस विधेयकको संरचना हेर्दा संघीय सरकारले सहिद दशरथचन्द विश्वविद्यालय खोल्ने कुरा देखाउँछ। किनभने कुलपति प्रधानमन्त्री, सहकुलपति शिक्षामन्त्री राखेर ल्याइएको छ। त्रिभुवन विश्वविद्यालयको कुलपतिसम्म प्रधानमन्त्रीलाई राख्दा पुग्ला। तर अन्य विश्वविद्यालयमा पनि प्रधामन्त्रीलाई कुलपति र शिक्षामन्त्रीलाई सहकुलपति राखिराख्न जरूरी छैन। त्यसैले यो त प्राविधिक विषय हो। यसको केन्द्रीय सरकारसँग कसरी यसको लिंक गर्ने त्योबारेमा सोचौं। संघीय सरचना भएका देशहरूमा कतिपय ठाउँमा प्रदेश प्रमुखलाई कुलपति बनाइएको हुन्छ। तर त्यसबाट पनि त्यहाँ टसल आएको छ।’
बैठकमा अधिकांश सांसदहरूले चिकित्सा शिक्षामा सर्वसाधारणको सहज पहुँच पुग्नेगरी विधेयक ल्याउनुपर्ने धरणा राखेका थिए।
सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित भएर शिक्षा समितिमा आएको हो। सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ।—न्युज एजेन्सी नेपाल