नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सडकमा जाने अवस्था आउनसक्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिक सार्वजनिकीकरणको सवाल’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केही राजनीतिक दलहरूले शान्ति प्रक्रियालाई माओवादीविरूद्ध प्रयोग गर्ने हतियारका रूपमा लिएका कारण टुंगिन समस्या भएको बताए।
त्यसकारण शान्ति प्रक्रिया टुंगोमा पुर्याउनका लागि दबाब बढाउन त्यस विषयलाई सडक र सदनमा लैजानुपर्ने अवस्था आउनसक्ने प्रचण्डले बताएका हुन्।
‘अघिल्लो पटक पनि अन्तिममा समस्या आयो,' उनले भने, 'यसपटक विधेयक टुंगिएर पनि आयोग गठनका लागि सिफारिस समिति बनेको बेलामा अन्तिम समयमा समस्या आएको छ, यसको मुख्य कारण राजनीतिक नै हो । शान्ति प्रक्रियालाई माओवादी कमजोर बनाउने अन्तिम हतियारको रुपमा लिएकाले नै यो नटुंगिएको हो । अब विस्तारै दबाब बढाउन यो विषय सडक र सदनमा लैजानुपर्छ भन्ने लागेको छ,' उनले भने।
त्यसका लागि पीडितहरूको पक्षबाट नेतृत्त्व गर्न माओवादी केन्द्र तयार रहेको पनि प्रचण्डले बताए।
उनले पीडितहरूले सरकार र राजनीतिक नेतृत्वलाई शान्ति प्रक्रिया नटुंग्याए बर्बाद हुन्छ भन्ने ठाउँमा नपुर्याएसम्म अर्को १८ वर्ष यत्तिकै जाने खतरा रहेको पनि बताए।
'दबाब बढ्दै गयो भने शान्ति प्रक्रिया चाँडै टुंगिन्छ। दबाब पुगेन भने राजनीति हावी भएर पीडितका भावनाको जहाँको त्यही रहने खतरा हुन्छ,' उनले भने।
बाह्र बुँदे समझदारी र शान्ति सम्झौता संविधानको अंग भइसकेपछि संविधान कार्यान्वयन गर्नु राज्यको दायित्व भएको स्मरण गराउँदै प्रचण्डले यसमा गम्भीर हुन सरकारलाई आग्रह गरे।
उनले चाँडै अन्य प्रमुख दलका शीर्ष नेताहरुसँग भेट गरेर यो विषयको ध्यानाकर्षण गराउने र रोकिएको प्रक्रिया अघि बढाउन आग्रह गर्ने जानकारी दिए।
अध्यक्ष प्रचण्डले आफू युद्ध र क्रान्तिको नेतृत्वकर्ता तथा शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुको नाताले छिटोभन्दा छिटो यो विषय टुंगियोस् भन्ने प्रयासमा रहेको पनि बताए।
‘हामीले जसरी बाह्र बुँदे समझदारी र शान्ति सम्झौतामा सहमति गरेका छौं, त्यसैको मर्म र भावनाअनुसार नै यसलाई टुंग्याउनुपर्छ, यसमा निरन्तर सहमतिको प्रयास भइरहेको छ,' उनले भने।