नेकपा (एमाले) ले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निकालेको विषयमा समर्थन र विरोधका आवाज सुनिएका छन्।
पुस १० गतेको सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेकोमा पुस १९ को केन्द्रीय समितिले उक्त निर्णय अनुमोदन गरेको थियो।
अझै पनि यो विषयमा चर्चा भइरहेको छ।
एमाले पोलिटब्युरो सदस्य लक्ष्मीप्रसाद पोखरेलले पूर्वउपाध्यक्ष रावलको आलोचना गरे।
उनले सोमबारको केन्द्रीय समिति बैठकमै धारणा राख्दै पूर्वउपाध्यक्ष रावललाई पहिले नै पार्टीबाट निकालेको भए आमचुनावमा पार्टीका पक्षमा थप दुई सिट बढ्ने दाबी पनि गरेका हुन्।
‘भीम रावलजीले पछिल्लो समयमा जे-जस्ता गतिविधि गरिरहनुभएको छ, यसले एमालेको शिर निहुर्याएको छ,’ उनले भने, ‘उहाँलाई पहिले नै पार्टीबाट निकाल्नुपर्थ्यो, त्यसो गरेको भए दुई सिट बढ्थ्यो।’
पोखरेल २०७९ मंसिरको चुनावमा दैलेखको क्षेत्र नम्बर २ मा एमालेबाट उम्मेदवार थिए। उनी १५३ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार दिक्पालकुमार शाहीसँग पराजित भएका थिए।
अध्यक्ष केपी शर्मा ओलीले पनि रावल एमाले नै नरहेको बताउँदै पार्टी नेतृत्वसँग धम्क्याएर लाभ लिँदै आएको बताएका थिए। १० औं महाधिवेशनपछि पनि रावललाई सम्झाउने कोसिस गरे पनि आफू सफल हुन नसकेको ओलीको भनाइ थियो।
त्यस्तै अध्यक्ष ओलीले ६ महिना निलम्बन गरेका स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको कारबाहीबारे पनि बोलेका थिए।
उनीहरूको निलम्बन पुनर्विचार गर्न केही केन्द्रीय सदस्यले माग गरेको प्रसंगमा अध्यक्ष ओलीले पाण्डे र तिम्सेनालाई कारबाहीका रूपमा बुझ्न नहुने बताए।
‘उहाँहरूलाई कारबाही गरेर हटाएको होइन, केही समय जिम्मेवारीमुक्त गरिएको हो, उहाँहरूले यसबीचमा कमजोरी महसुस गरेमा निलम्बन पुनर्विचार हुन्छ,’ उनले भने, ‘तर यसबीचमा उहाँहरूले जे गतिविधि गरिराख्नु भएको छ, यस्तै गतिविधि जारी राखे थप कारबाही गर्नुपर्ने हुन सक्छ।’
एमालेले निकालेका रावल भने देश दौडाहमा छन्। उनी वैकल्पिक शक्ति निर्माण गर्ने योजनामा छन्।