प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी छन्। कोइराला सहकारी ठगी प्रकरणमा फरार थिइन्।
मोरङ जिल्ला अदालत स्रोतका अनुसार बुधबार अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहस सुरू हुने तयारी छ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अन्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन्।
सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रंगेली-२ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन्।
सोही प्रकरणमा नाम जोडिएकी कोइराला बुधबार बिहान अदालत खुल्ने समयमै हाजिर भएकी हुन्।
‘उहाँ हाजिर हुनुभएको छ, अब थुनछेक बहस सुरू हुन्छ’, अदालत स्रोतले भन्यो।
विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक कोइराला अदालतको पक्राउ पुर्जीपछि विद्यालयमा विदा लिएर फरार थिइन्।
उनका सांसद श्रीमान पोखरेलले भने आफू र आफ्नो परिवार सबैथरी परीक्षा दिन तयार रहेको बताउँदै आएका छन्।
यसबीचमा पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेलविरूद्ध पनि ठगी गरेको अभियोगमा अदालतले पक्राउ पुर्जी जारी गरेको छ। सांसद पोखरेलले स्वकीय सचिवलाई भने पदबाट हटाएका छन्।