नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ लाई आफूले राजनीतिमा सक्रिय हुन नभनेको बताएका छन्।
मंगलबार केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिँदै अध्यक्ष दाहालले पूर्वउपराष्ट्रपति पुन सक्रिय राजनीतिमा आउन चाहन्छु भनेकोले आमन्त्रित रूपमा बोलाइएको बताए।
‘मैले पासाङजीलाई आउनु भनेको होइन, रिटायर भएपछि म सक्रिय भूमिकामा आउन चाहन्छु भनिरहनुभयो। अनि आमन्त्रितकै रूपमा बोलाएको हो,’ प्रचण्डले भने, ‘म एउटा क्रान्तिको सिपाही हुँ, क्रान्ति गर्न किन नपाउने भन्नुभयो। उहाँको स्पिरिटअनुसार कार्यविभाजन गर्ने बेला भित्र पनि कन्फ्युज्ड नहुने, बाहिर पनि कन्फ्युज्ड नहुने, उपयुक्त हुने विकल्प खोज्छौं।’
केन्द्रीय कमिटी बैठकमा उपराष्ट्रपति पुन उपाध्यक्षहरूकै लहरमा बसेका थिए।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरूले मञ्चमा बसिरहेका पूर्वउपराष्ट्रपति पुन फेरि राजनीतिमा आउन उपयुक्त नहुने बताएका थिए।
कोशी प्रदेश संसदीय दलका नेतासमेत रहेका केन्द्रीय सदस्य ईन्द्र आङ्बोले पूर्वराष्ट्रपति र उपराष्ट्रपति सामाजिक काममा लाग्दा उपयुक्त हुने बताएका थिए।
‘केन्द्रको पदाधिकारीसहित सिनियर नेताले वैचारिक र खोज अनुसन्धान र अभियानहरूको जिम्मेवारी दिने नयाँ पुस्तालाई संगठनको जिम्मेवारी दिने काम गरौं,’ आङ्बोले भनेका थिए, ‘पूर्वराष्ट्रपति उपराष्ट्रपतिले राजनीतिक क्षेत्रमा भन्दा पनि अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरले जस्तो क्षेत्रको काम गर्नु पर्यो।’
केन्द्रीय सदस्यहरू सुदन किराती र लेखनाथ न्यौपानेले पनि पूर्वउपराष्ट्रपति पुन माओवादीमा सक्रिय हुन लागेको विषयमा प्रश्न उठाएका थिए।
‘पूर्वउपराष्ट्रपति राजनीतिमा आउने कुराले राम्रो सन्देश गएन, १२ हातको सरस्वतीलाई ३ हातको मन्दिरमा नराखौं,’ किरातीले भनेका थिए।
नेता न्यौपानेले पूर्वउपराष्ट्रपति पुनलाई लक्ष्य गर्दै सामाजिक सञ्जाल फेसबुकमा पार्टी सदस्यता त्याग गरी राज्यको माथिल्लो जिम्मेवारीमा पुगेकाहरू सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुने उल्लेख गरेका थिए।
‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायत पुन: सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुन्छ। बरू सुरूमै सक्रिय संगठनात्मक जीवनमा नफर्कने व्यक्तिहरूलाई त्यस्ता जिम्मामा पठाउनु पर्छ नत्र त संगठनात्मक जीवनमा प्रवेशकाे ढाेका खुल्ला हुने तर निस्कने ढाेका सबै बन्द गर्दा नयाँहरूकाे प्रवेश हुँदैन र पार्टीको संगठनात्मक जीवन संग्रहालयमा बदलिन्छ,’ उनले भने।
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउन माओवादीका पदाधिकारी सहमत भइसकेका छन् तर केन्द्रीय कमिटीबाट निर्णय भइसकेको छैन।
अब माघ १ गतेभित्रै पार्टी पदाधिकारी बैठक बसेर नेताहरूको जिम्मेवारी तोक्ने अध्यक्ष प्रचण्डले बताएका छन्।
यो पनि: माओवादीले एक वर्षभित्र नवौं महाधिवेशन गर्ने