राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई समितिको बैठक डाक्न आग्रह गरेका छन्।
उर्जामन्त्री दीपक खड्काले १६ अर्बको ठेक्काको विषयमा मिलाउन चेक लेनदेन गरेको र कुलमान घिसिङलाई हटाउन स्पष्टीकरण सोधेको विषयमा सांसद झाले बैठक डाक्न सभापति पोखरेललाई आग्रह गरेका हुन्।
घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुन्।
डोल्पामा बन्न लागेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्कामा मिलेमतो गराउन मन्त्री खड्काले आफ्नै कार्यकक्षमा ठेकेदारहरू जम्मा गरेर चेक लेनदेन गराएको सम्बन्धी समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको थियो।
मन्त्री खड्काले सोमबार घिसिङलाई स्पष्टीकरण सोधेका थिए।्
नौ बुँदे स्पष्टीकरण पत्रमा घिसिङले पेस गर्नुपर्ने कार्यसम्पादन मूल्यांकनसम्बन्धी विवरणसमेत पेस नगरेकाले 'नियुक्ति किन अन्त्य नगर्ने' भनेर प्रश्न गरिएको छ।
मन्त्रालयले घिसिङमाथि विद्युत प्राधिकरण सञ्चालक समितिका बैठकहरूमा सरकारी निकायको कार्यकारी प्रमुखको हैसियत भुलेर पटक-पटक असहयोगी भूमिका खेल्ने गरेको, सामान्य विषयवस्तुमा विवाद गर्ने गरेको, पदीय मर्यादाविपरीत कार्य गरेको र मन्त्रालयको निर्देशन अवज्ञा गर्दै आएको आरोप लगाएको छ।
यही विषयमा बैठक डाक्न सभापति पोखरेललाई सांसद झाले लेखा समितिका सांसदहरू रहेको ह्वाट्सएप ग्रुपमा आग्रह गरेका थिए। जबाफमा सभापति पोखरेलले 'केही दिन बाहिर छु, चाँडै फर्कन्छु' भनेर लेखेका छन्।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठक पछिल्लो समय अनियमित भएको छ।
गत भदौ ९ गते बसेको बैठक चार महिनापछि गत पुस ७ गते बसेको थियो।
सांसदहरुले उक्त बैठकमा नै नियमित बैठक राख्न सभापति पोखरेललाई आग्रह गरे।
नेपाली कांग्रेसका सांसद राजन केसीले विभिन्न अनियमितताका घटना आइरहेकाले बैठक नियमित गर्न सभापतिलाई आग्रह गरेका थिए।
नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले पनि बैठक राख्न सभापति पोखरेललाई आग्रह गरेका थिए। मोदीले लेखा समितिको सचिवालयलाई पनि बैठक कहिले बस्छ भनेर सोधखोज गरेको समितिका सचिव एकराम गिरीले बताए।
'सांसद मोदीले सोधखोज गर्नु भएको थियो। मैले सभापतिज्यू काठमाडौं उपत्यकामा हुनु भए जस्तो लागेको छैन भनेर जवाफ दिएँ,' उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद झाले भने सभापतिले बैठक नराखे समितिमा भएका उपलब्ध सांसदहरूको मात्र भए पनि बैठक गर्न प्रस्ताव गरेका छन्।
'मैले समितिका सांसदहरूलाई पनि बैठक माग गर्न आग्रह गरेको छु', झाले सेतोपाटीसँग भने, 'नभए हामी असन्तुष्टहरू पनि बैठक छलफल गरौँ भनेको छु।'
उनले बैठक चाहने सांसदहरूले सार्वजनिक रूपमै आवाज उठाउने विषयमा छलफल गरेको बताए।
'सभापतिज्यूलाई पनि मौखिक रुपमा पनि बैठक डाक्न माग गरेको छु', झाले भने, 'यस्तो ठूलो घटना भइराखेको छ, लेखा समितिको अकर्मन्यताको मूल्य देशको सुशासनले थेग्नु परेको छ।'
सार्वजनिक लेखा समितिका सभापति पोखरेल एकपछि अर्को विवादमा पर्दै गएका छन्।
उनकी श्रीमती अञ्जला कोइरालाविरुद्ध मोरङ अदालतले सहकारी ठगीमा पक्राउ पुर्जी जारी गरेको छ। उनी सम्पर्कविहीन छिन्।
त्यस्तै उनको स्वकीय सचिव अनिल पोखरेलविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। पोखरेलविरूद्ध ठगी र विश्वासघातको आरोप छ।