नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पनि निर्वाचनबाट चुनिने आँट देखाउनुपर्ने बताएका छन्।
काठमाडौंमा पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले विधान अनुसार पार्टी चल्नुपर्ने र पदाधिकारी पनि विधान बमोजिम नै निर्वाचित भएर आउनुपर्ने बताएका हुन्।
‘हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्डले ३५ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आउनुभयो,’ उनले भने,‘महाधिवेशनबाट नेतृत्व चुन्ने विधिमा जाऔं, उहाँले पनि चुनिएर अध्यक्ष हुने मौका पाउनुहुन्छ।’
उनले पार्टीका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न पार्टीभित्रै छानबिन समिति बनाउन माग गरेका छन्।
‘हाम्रो जीवनशैली कस्तो छ, हामीसँग कति सम्पत्ति छ, त्यसको छानबिन गरौं,’ शर्माले भने, ‘छानबिनका लागि पार्टीभित्रै स्वतन्त्र आयोग बनाऔं।’
बैठकमा अध्यक्ष प्रचण्डले शर्मालाई विशेष समय दिएका थिए। अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन राख्नका लागि अरू नेताहरूले ३ मिनेट समय पाएकोमा शर्माले करिब १५ मिनेट समय पाएका थिए।
शर्माले यसअघि स्थायी कमिटी बैठकमा छुट्टै राजनीतिक प्रस्ताव ल्याएका थिए। उक्त प्रस्तावलाई छलफलका लागि प्रदेशस्तरसम्म पठाइएको थियो। केन्द्रीय कमिटी बैठकमा पनि शर्माको प्रस्तावमाथि छलफल हुने आकलन गरिएको थियो।
तर प्रचण्डले फरक मतहरूलाई आउँदो महाधिवेशनसमा सम्बोधन गरिने बताएका थिए।