नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न नसकेको बताएका छन्।
मंगलबार ललितपुरमा भएको 'संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरू' अन्तर्क्रियामा बोल्दै महामन्त्री थापाले शासकीय जिम्मेवारी लिने राजनीतिक दलका नेताहरू संघीयताप्रति उदार हुन नसक्दा अहिलेको परिणाम आएको बताए।
‘हामी राजनीतिक दलका नेताहरू, म पनि हो त्यसमा। जसले यो शासकीय जिम्मेवारी लिन्छौं। हामी कोही पनि संघीयताप्रति उदार छैनौं, एकदमै अनुदार छौं। हामी यसलाई यसैबाट अघि बढाउँछौं भन्ने छैन। मैले नयाँ दल पनि हेरेँ। मैले यो क्षेत्रीय दलहरू पनि हेरेँ। सँगै सरकारमा पनि बस्यौं। जसले बाहिर जे-जे भने पनि भित्र सरकार चलाउने बेला कसैले पनि शर्त राख्दैन,’ उनले भने।
उनले संघीय निजामती विधेयक, संघीय प्रहरी विधेयक पारित नहुने भए सरकारबाट बाहिरिन्छु भनेर कसैले भनेको नसुनेको पनि बताए।
‘सबैले बाहिर भन्छन्, सरकार चलाउने ठाउँमा गइसकेपछि त्यो सबै जना हामी अधिकारलाई कसरी मुठीमा राखिराख्ने भन्ने नै हुन्छौं। सबै मिल्छौँ हामी। यसले गर्दा दुर्घटना हुने भयो। संघीयता नेपालमा अनवरत चल्छ। प्रदेशहरू रही नै राख्छन्। यो संवैधानिक व्यवस्थाको सबै हामी पक्षमा छौं। तर हामी प्रदेशलाई, सिंगो संघीय व्यवस्थालाई स्थानीय सरकार पनि योभित्र पर्छ। हामी यसलाई फङ्सनल बनाउनेवाला भएनौं अब। यसलाई प्रभावकारी बनाउने भएनौं। रिजल्ट ओरियन्टेट बनाउने भएनौँ। यसबाट परिणाम नआउने भयो,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)