नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा जेन-जी पुस्ता केन्द्रित पार्टी अभियान चलाउनुपर्ने प्रस्ताव आएको छ।
काठमाडौंमा आइतबारदेखि जारी केन्द्रीय कमिटी बैठकमा मंगलबार आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले पार्टी अभियान अब जेन-जी पुस्तामाझ पुग्नुपर्ने बताएका हुन्।
‘सन् १९९७ देखि २०१२ सम्म जन्मिएका जेन-जेड पुस्ता जो समाज हैन सञ्जाल हेरेर धारणा बनाउँछन् उनीहरू केन्द्रित विशेष अभियान चलाऔं,’ बस्नेतले भने, ‘सुरूवातमा सातै प्रदेशमा अध्यक्ष प्रचण्डसँग जेन-जेड पुस्ता साक्षात्कार कार्यक्रम राखौं।’
उनले विदेशबाट फर्किएका युवाहरू लक्षित कार्यक्रम ल्याउन पनि बैठकमा प्रस्ताव गरेका छन्।
‘अहिले दैनिक २ हजार युवा बाहिरिने, दैनिक करिव १२ सय युवा फर्कने गरेको तथ्यांक छ,’ बस्नेतले भने, ‘६० लाख युवा देश बाहिर छन्। ती युवाहरू र त्यसबाट आश्रित जनसंख्यालाई तिनले पार्ने प्रभावको विश्लेषण सहित प्रवास, युवा र रिटर्नी जोडेर अभियान चलाऔं।’
उनले हप्तामा १ दिन अध्यक्ष प्रचण्डले १ स्थानीय तहका जनप्रतिनिधि र १ पार्टी कमिटी प्रमुखसँग भर्चुअल वा टेलिफोनबाट १० मिनेट उर्जा संवाद गर्नुपर्ने पनि बताएका छन्।