नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै पुग्ने भन्नेबारेमा मात्रै बहस हुने गरेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अन्य राजनीतिक दलहरूमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने जस्ता विषयमा मात्रै बहस हुने गरेको उल्लेख गरे।
उनले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्ष्य गर्दै सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने कुराले अब व्यवस्थापिका नराख्ने भन्ने कुरालाई जोड दिएको उल्लेख गरे। उनले यसले व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य हुने बताए।
उनले भने, ‘कांग्रेस र एमालेको सरकार बनेपछि कांग्रेस र एमालेको आजको बहस भोलि म सत्तामा मज्जाले कसरी पुग्नसक्छु भन्ने विषयमा मात्रै केन्द्रित रह्यो। अरू केही विषयमा केन्द्रित भएन। उदाहरणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी चाहियो भन्ने छ। किन हुनुपर्यो? चाहे बाबुरामजीले भन्नुभएको होला, अथवा अरू कसैले भनेको होला। मेरै पार्टीको एक जना महामन्त्रीले भन्नुभएको छ। किन भन्नुभएको छ भन्दा सत्ता कसरी निर्माण हुनुपर्यो? सत्ता चलेको चल्यै गर्नुपर्यो। मेरो पार्टीको महामन्त्रीले सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउनुपर्छ भन्नुभयो। बाबुरामजीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि सबै चल्छ भन्नुभयो। त्यो भनेको मतलब अब व्यवस्थापिका नराख्ने भनेको हो? अन्तरनिहित विषय त त्यो हो नि। व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य गर्ने भनेको हो।’
नेता रिजालले थ्रेसहोल्ड बढाउनु भनेको नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका अन्य राजनीतिक दलहरू नहोऊन् भन्न खोजेको बताए।
अर्को कसैले चुनाव हारेको दिन फेरि अर्को पटक जनतासँग गएर सत्ता बदल्नसक्छु भन्ने आत्मविश्वास भएमात्रै लोकतन्त्र बलियो हुने बताए।—न्युज एजेन्सी नेपाल