नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा सोमबार पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ।
केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको ४७ पृष्ठको राजनीतिक प्रतिवेदन र समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित रहेर धारणा राखिरहेका छन्।
केन्द्रीय सदस्य परशुराम अधिकारीले पनि सोमबार धारणा राखे।
भोजपुरका उनले माओवादी छाडेर एमालेमा आएकाहरू अहिले अन्यायमा परेको कुरा केन्द्रीय कमिटीमा राखेका हुन्।
उनी रामबहादुर थापा 'बादल' सँगै नेकपाको निरन्तरता एमाले हो भन्दै एमालेमै रहेका थिए।
‘माओवादीबाट एमालेमा आएकाहरू अन्यायमा परेका छन्, कमिटी आकार पनि सानो बन्न थाल्यो, सानो कमिटी पनि गुटमा बाँडियो, अध्यक्ष ओलीनिकट गुट छ, संस्थापनइतर पनि छन्, माओवादी छाडेर एमालेमा आएकाहरू कुनै गुटमा छैनन्,’ उनले भने, ‘जिम्मेवारी पनि पाएका छैनन्।’
माओवादीबाट एमालेमा आएकाहरूलाई पार्टीले जिम्मेवारी पनि नदिएको उनको भनाइ थियो। ‘त्यसैले पनि होला साथीहरू फेरि माओवादीमै फर्किन थालेका छन्,’ उनले भने।
साथै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण थुनामुक्त भएको तर एमालेका नेता टोपबहादुर रायमाझी पुर्पक्षका लागि थुनामै रहेको विषय पनि उठाएका थिए।
‘कांग्रेसले खाणलाई छुटायो, एमालेले टोपबहादुर रायमाझीलाई छुटाउन सकेन भनेर माओवादीले यो कुरा उठाउँदै साथीहरू माओवादीमै फर्काउन थालेको छ,’ उनले भने, ‘रायमाझी दोषी हो भने जेलमा, निर्दोष भए छोड्नुपर्यो। यसबारे सत्यतथ्य के हो सार्वजनिक गरियोस्।’
टोपबहादुर रायमाझी पनि माओवादी छाडेर एमालेमा गएका थिए।
आइतबार केन्द्रीय कमिटीमा २७ जनाले र सोमबार ६५ जनाले धारणा राखेका छन्। केन्द्रीय कमिटी बैठक मंगलबारसम्म चल्ने एमालेले जनाएको छ।