धुम्बाराहीमा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक जारी छ।
आइतबार दिउँसोदेखि सुरू बैठक सोमबार पनि चलिरहेको छ। केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।
केन्द्रीय कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।
सोमबार पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य सुदन किरातीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन राजनीतिमा फर्किंदा गलत सन्देश गएको बताए।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षको लहरमा बसेका छन्। उनलाई उपाध्यक्ष बनाउन माओवादीका पदाधिकारी सहमत भइसकेका छन् तर केन्द्रीय कमिटीबाट निर्णय भइसकेको छैन।
‘पूर्वउपराष्ट्रपति राजनीतिमा आउने कुराले राम्रो सन्देश गएन, १२ हातको सरस्वतीलाई ३ हातको मन्दिरमा नराखौं,’ किरातीले केन्द्रीय कमिटी बैठकमा भने।
पूर्वउपराष्ट्रपति पुन माओवादीको केन्द्रीय कमिटी बैठकमा आमन्त्रित सदस्यको रूपमा सहभागी छन्।
नन्दबहादुर दुई कार्यकालसम्म उपराष्ट्रपति बनेका थिए।
यसैबीच केन्द्रीय कमिटीभन्दा बाहिर पनि यसबारे प्रश्न उठेको छ।
माओवादी नेता लेखनाथ न्यौपानेले पूर्वउपराष्ट्रपति पुनलाई लक्ष्य गर्दै सामाजिक सञ्जाल फेसबुकमा पार्टी सदस्यता त्याग गरी राज्यको माथिल्लो जिम्मेवारीमा पुगेकाहरू सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुने उल्लेख गरेका छन्।
‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुखलगायत पुन: सक्रिय संगठनात्मक जीवनमा फर्कने प्रक्रिया पश्चगामी हुन्छ। बरू सुरुमै सक्रिय संगठनात्मक जीवनमा नफर्कने व्यक्तिहरूलाई त्यस्ता जिम्मामा पठाउनु पर्छ नत्र त संगठनात्मक जीवनमा प्रवेशकाे ढाेका खुल्ला हुने तर निस्कने ढाेका सबै बन्द गर्दा नयाँहरूकाे प्रवेश हुँदैन र पार्टीको संगठनात्मक जीवन संग्राहलयमा बदलिन्छ,’ उनले भने।