गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने नेपालको भूमि भारतीय नागरिकहरूले भोगचलन गर्दै आएको बताएका छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृहमन्त्री लेखकले भने, ‘कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको एरियाभित्र पर्ने जमिन भारतीय नागरिकहरूले भोगचलन गरिराखेको अवस्था छ, यसका बारेमा सरकार जानकार छ।’
यस विषयमा सरकारले केही छलफल पनि गरिसकेको गृहमन्त्री लेखकले बताए।
‘भारतीय नागरिकहरू हाम्रो भू-भागभित्र खेतीपाती गरेका छन्, जग्गा भोगचलन गरिराखेका छन्,’ उनले भने, ‘सीमामा दुवै देशको सहमतिमा एउटा पिलर राख्नुपर्ने भएकोले छलफल पनि भइरहेको छ।’
सरकार नेपालको भूमि र सीमाको सुरक्षाका लागि प्रतिबद्ध र रहेको पनि गृहमन्त्री लेखकले बताए। ‘यो समस्या कुटनीतिक तवरबाट तत्काल समाधान गर्न सरकार अघि बढेको छ,’ उनले भने।
नेपालको भूमि भारतीयहरूले प्रयोग गरिरहेकोबारे नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू र नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रश्न उठाएका थिए।
एमाले सांसद पन्तले कञ्चनपुमा ९ सय बिघाभन्दा बढी जग्गा भारतीयले भोगचलन गरिरहेको खबर आएको बताएका थिए।
‘भारतीयहरूले भोगचलन गरिरहेको विषयमा सरकारले के गरिरहेको छ? गृहमन्त्रीको निर्वाचन क्षेत्रसमेत रहेको र सीमा विवाद नभएको हुनाले त्यस विषयमा गृहमन्त्रीको ध्यानाकर्षण होस्। यसमा यथाशीघ्र कदम चालियोस् र यस विषयमा गृहमन्त्रीबाट जबाफ मिलोस्,’ उनले भने, ‘हाम्रो भूमि छिमेकीले उपभोग गर्ने नहोस्, हाम्रो जमिन हाम्रो भोगचलनमा आओस्।'
कांग्रेस सांसद बडूले 'भूमि हाम्रो नक्सामा तर भोगचलनमा भारलते गरेको छ। यसलाई गम्भीरताका साथ हेर्नुपर्छ,' भनेका थिए।
उक्त प्रश्नमाथि जबाफ दिएका गृहमन्त्री लेखकले नेपाली भूमिका भारतीय नागरिकहरूले खेतीपाती गर्दै आएको विषयमा सरकार जानकार रहेको बताएका हुन्।