नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ।
धुम्बाराहीको दरबार ब्यांक्वेटमा सुरू भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए।
सोमबारदेखि सोही प्रतिवेदनमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्। धारणा राख्नका लागि प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय तोकिएको छ।
प्रतिवेदनमा प्रचण्डले केन्द्रीयदेखि प्रदेश तहका नेताहरूले फागुन १ गतेभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने, विप्लव नेतृत्वको नेकपालगायत तीन कम्युनिष्ट पार्टीसँग एकताको पहल गर्ने लगायत पार्टीको सांगठानिक सुदृढीकरणका निम्ति विभिन्न प्रस्तावहरू उल्लेख गरेका छन्।
अध्यक्ष प्रचण्डले प्रतिवेदनमा राखेका विषयहरूमाथि बैठकमा सहभागी हुने सबै केन्द्रीय सदस्यहरूले धारणा राख्ने उपाध्यक्ष सापकोटाले जानकारी दिए।
माओवादीको केन्द्रीय कमिटी बैठकमा ४०९ केन्द्रीय सदस्य, २०५ जना वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १२५ जनाको समेत सहभागिता रहनेछ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी छन्।