पोखराको सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन प्रकरणमा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूको थुनछेक बहस जारी छ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरूद्ध दर्ता भएको मुद्दामा गत मंगलबारदेखि थुनछेक बहस भइरहेको छ।
सरकारी वकिल, जाहेरवाला सहकारी पीडिततर्फका वकिलहरूको बहसपछि यो सातादेखि प्रतिवादीतर्फका वकिलहरूले बहस गरेका थिए।
आइतबार प्रतिवादी छबिलाल बन्जाडे जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए।
उनले प्रधानमन्त्री र गृहमन्त्रीले कानुनको दुरूपयोग गरेको बताएका थिए।
सहकारी ठगी सम्बन्धी प्रतिवेदनमा 'छविलाल जोशी' नभएको भन्दै अधिवक्ता थापाले ऋण दिने मान्छे प्रतिवेदनमा नदेखिएको दाबी गरेका थिए।
'ऋण लिनेउपर मुद्दा छैन, ऋण नलिनेलाई मुद्दा छ,' उनले भनेका थिए, 'कस्तो खालको अनुसन्धान हो यो?'
पढ्नुस्ः छविलाल जोशीका तर्फबाट अधिवक्ता शम्भु थापाले गरेको बहस
सोमबार रवि लामिछाने पक्षका वकिलहरूले बहस गर्ने तयारी छ।
लामिछानेको पक्षबाट पूर्व महान्यायाधिवक्ता एवम् वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, डा. नारायण घिमिरे, नारायणदत्त कँडेल, हरि सुवेदी, रोहितराज बाँस्तोला लगायत १७ जना कानुन व्यवसायीले बहस गर्ने तयारी छ।
रवि लामिछानेविरूद्ध सुर्यदर्शन सहकारीको ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेकाले सोही बराबरको बिगो दाबी गरिएको छ। सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ बिगो दाबी गरिएको छ।